
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार र राहतका लागि उद्योग संगठन मोरङले आर्थिक सहयोग उपलब्ध गराएको छ । संगठनले मानवीय सहायता स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १५ लाख रुपैयाँ नगद सहयोग गरेको हो ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । बाढीका कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष राठीले यस संकटको घडीमा निजी क्षेत्र नागरिकको साथमा रहेको बताए ।
‘निजी क्षेत्र आर्थिक गतिविधिको संवाहक मात्र नभई समाजको अभिन्न अंग पनि हो । राष्ट्रले पीडा भोग्दा निजी क्षेत्रले पनि त्यसलाई महसुस गर्छ,’ अध्यक्ष राठीले भने, ‘बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ ।’
संगठनले बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विस्थापित नागरिकहरूको सुरक्षित पुनर्स्थापनामा जोड दिएको छ । साथै, संगठनले आफ्ना सम्पूर्ण सदस्य उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूलाई समेत राष्ट्रिय दुःखको यस समयमा आफ्नो क्षमता र सामर्थ्य अनुसार सरकारी राहत कोषमा हातेमालो गर्न अपिल गरेको छ ।
प्रभावित नागरिकहरूको जीवनमा पुनः आशा र मुस्कान फर्काउन सबै नेपालीहरू एकजुट भएर उभिनुपर्नेमा संगठनले जोड दिएको छ ।

























