
काठमाडौं । दिवंगत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज (शनिबार) देशभर मनाइँदै छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म शोकलाई उत्सवमा बदल्ने पर्वका रुपमा आठ दिन गाईजात्रा मनाउने चलन छ । विशेषगरी काठमाडौं उपत्यकासहित नेवार समुदायको बाक्लो बसोबास रहेका विभिन्न सहरमा धुमधामका साथ गाईजात्रा मनाउने गरिन्छ ।
गाईजात्राका अवसरमा एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगरपरिक्रमा गराउने चलन छ । नगरपरिक्रमा गराउँदा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार गाईको पुच्छर समाएर मृतात्माले वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ ।
गाईजात्रा मनाउने परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको ऐतिहासिक मान्यता छ । पुत्रशोकमा रहेकी रानीलाई संसारमा आफू मात्र नभई अन्य मानिसले पनि आफन्त गुमाएर शोक बेहोरेका छन् भन्ने देखाउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको भनाइ छ । रानीको शोक कम नभएपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम प्रस्तुत गर्न लगाइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकास भएको जनश्रुति छ ।
गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजदरबार भएर नगरपरिक्रमा गराउने परम्परा पनि अहिलेसम्म कायम छ । काठमाडौं उपत्यकामा यस पर्वको विशेष रौनक देखिन्छ भने बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरालगायत विभिन्न सहरमा गाईजात्रा मनाइन्छ ।
पर्वका क्रममा सामाजिक विकृति र विसंगतिमाथि व्यङ्ग्य गर्दै प्रहसन, नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । मृत आफन्तको सम्झनामा रामायणका करुण रसका गीत गाउने चलनसमेत रहेको छ ।
गाईजात्रालाई हास्यव्यङ्ग्यको पर्वका रूपमा समेत लिइने भएकाले यस अवसरमा हास्य कलाकारले विशेष कार्यक्रम आयोजना गर्ने गरेका छन् । सरकारले काठमाडौं उपत्यकामा गाईजात्राका दिन सार्वजनिक बिदा दिने परम्परा रहे पनि यस वर्ष भने पर्व शनिबार परेको छ ।

























