नालीको भेलले बगाउँदा आमा-छोरीको मृत्यु

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार ०८:१७
सांकेतिक फाेटाे

पोखरा । पोखरामा सडकको नालीमा आएको पानीको भेलले बगाउँदा आमा र छोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो परेको वर्षापछि सडकमा आएको भेलले बगाउँदा घाइते भएका पोखरा महानगरपालिका-३० ढुंगेपाटनका आमा-छोरीको उपचारका क्रममा मृत्यु भएको हो  ।

मृत्यु हुनेमा २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल छन् । उनीहरूलाई पोखराको बिरौटा चोक नजिकबाट उद्धार गरी गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । प्रहरीका अनुसार शुक्रबार दिउँसो सुष्माका श्रीमान् कमल दाहाल ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै थिए । पुरानो एयरपोर्ट नजिक सडक किनारमा स्कुटर रोकेर ओर्लने क्रममा छोरी रानीकालाई पानीको भेलले बगाएको थियो । छोरीलाई समात्न खोज्दा सुष्मा पनि भेलमा परेर बगेकी थिइन् ।

Advertisement

दुवैलाई सडकको नालीमा बगेको पानीले बगाउँदै बिरौटा चोकभन्दा तल पुर्‍याएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सक्रियतामा उनीहरूलाई दिउँसो करिब साढे ४ बजे बिरौटास्थित नहरको कुलोबाट उद्धार गरिएको थियो । त्यसपछि तत्कालै उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । अस्पतालका अनुसार उपचारका क्रममा सुष्माको शुक्रबार राति करिब साढे ९ बजे र उनकी छोरी रानीकाको शनिबार बिहान सवा १ बजे मृत्यु भएको हो ।

उद्धारमा खटिएका एक सुरक्षाकर्मीका अनुसार सडकको नालीमा पानीको बहाव निकै ठूलो थियो । स्कुटरबाट झर्न खोज्दा भेलले उनीहरूको सन्तुलन गुमेपछि नालीमा खसालेर बगाएको थियो । पोखराका विभिन्न स्थानमा यसअघि पनि सडकको नालीमा आएको भेलले मानिस बगाउने तथा ज्यान जाने घटना भएका छन् । समयमै उद्धार गरी अस्पताल पुर्‍याइए पनि सुष्मा र उनकी छोरीलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×