
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम टुंगो लगाएको छ । संस्थाको आइतबार सम्पन्न विशेष साधारण सभाले जीवन विकास, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल र काभ्रेपलान्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तबीचको मर्जरको अन्तिम टुंगो लगाएको हो ।
विशेष साधारण सभाले संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले प्रस्तुत गरेको जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयर आदानप्रदान अनुपात क्रमशः १ः१ः०.८१ कायम गर्ने प्रस्ताव पारित गरेको छ । यसको अर्थ जीवन विकास र युनिक नेपालको १ कित्ता सेयर बराबर १ कित्ता नै हुनेछ भने मानुषी लघुवित्तको १ कित्ता सेयर हुनेले मर्जरपछि जीवन विकासको ०.८१ कित्ता सेयर प्राप्त गर्ने छन् ।
यसअघि नेपाल राष्ट्र बैंकले सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनमा तथ्यांकगत केही फरक देखिएको भन्दै पुन साधारणसभा गर्न भनेको थियो । राष्ट्र बैंकको पछिल्लो निर्देशन बमोजिम तीन वटै संस्थाका साधारण सभाबाट पुनः अनुमोदन गराई अन्तिम स्वीकृतिको प्रक्रिया अघि बढाइएको हो ।
विशेष साधारण सभाले जीवन विकासको सञ्चालक समितिलाई मर्जर सम्बन्धी अन्य सम्पूर्ण प्राविधिक तथा कानुनी कार्यहरू पूरा गर्ने अख्तियारी समेत प्रदान गरेको थियो । गत चैत २८ गते तीन संस्थाबीच मर्जर सम्झौता भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि तीन वटै संस्थाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् । एकीकृत कारोबारपछि जीवन विकासको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा संस्थाको शाखा संख्या २३३ पुग्नेछ ।
जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ ।



















