भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ११:०४

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट भएको भौतिक क्षतिको पूर्ण विवरण नआइसके पनि बीमा कम्पनीहरूले करिब १ खर्ब रुपैयाँसम्मको बीमा दाबी पर्न सक्ने प्रारम्भिक अनुमान गरेका छन् ।

बाढीबाट जलविद्युत् आयोजना, निजी घर, पसल, गोदाम, सवारीसाधन, होटल तथा रिसोर्टलगायतका संरचनामा ठूलो क्षति पुगेको छ । उद्धार, राहत र पुनःस्थापनाको काम जारी रहेकाले अहिले नै कुल क्षतिको यकिन विवरण आउन कठिन रहेको बीमा क्षेत्रका अधिकारीहरू बताउँछन् ।

Advertisement

यसअघि गत वर्षको जेन्जी आन्दोलनका क्रममा करिब २५ अर्ब रुपैयाँको बीमा दाबी परेको थियो । भोटेकोशी बाढीबाट त्यसको तुलनामा केही गुणा बढी दाबी पर्न सक्ने आकलन गरिएको हो ।

जलविद्युत् आयोजनाका कर्मचारीको जीवन बीमा गरिएको भए मृत्यु तथा दुर्घटनासम्बन्धी दाबीसमेत पर्न सक्नेछ । बाढीमा परी घाइते भएका र स्थायी वा अस्थायी रूपमा अङ्गभङ्ग वा अपाङ्गता भएका व्यक्तिले सम्बन्धित बीमा पोलिसीमा त्यस्तो सुविधा समावेश भए क्षतिपूर्ति दाबी गर्न सक्नेछन् ।

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले बाढीबाट भौतिक क्षतितर्फ सबैभन्दा ठूलो असर जलविद्युत् क्षेत्रमा परेको बताएका छन् ।

उनका अनुसार निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाको अनिवार्य रूपमा बीमा गरिएको हुने भएकाले क्षतिग्रस्त आयोजनाबाट ठूलो रकमको दाबी आउन सक्छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निर्माण गरिएका निजी घर, पसल तथा अन्य संरचनाको पनि बीमा हुने भएकाले त्यस्ता सम्पत्तिबाट समेत दाबी पर्नेछ ।

नदी किनारका होटल तथा रिसोर्ट, बैंकका शाखा, पेट्रोल पम्प र चार्जिङ स्टेसनलगायतको बीमा गरिएको भए त्यहाँबाट पनि दाबी आउन सक्ने उनले बताए । मुलका अनुसार नेपाली निर्जीवन बीमा कम्पनीहरू बाढीबाट सिर्जना हुने दायित्व भुक्तानी गर्न सक्षम छन् । ठूलो रकमको दाबी परेमा कम्पनीहरूको नाफामा असर पर्न सक्ने भए पनि दाबी भुक्तानीमै समस्या नहुने उनको भनाइ छ ।

तर, पुनर्बीमाको जोखिम व्यवस्थापनमा भने चुनौती आउन सक्ने उनले बताए। ठूलो जोखिमको हिस्सा स्वदेशमै राखिएको अवस्थामा यस्तो विपत्तिले पुनर्बीमा संरचनामाथि दबाब पार्न सक्ने उनको भनाइ छ ।

नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदावरले बाढी प्रभावित क्षेत्रमा बीमा कम्पनीहरूले छुट्टै टोली परिचालन गरी क्षतिको विवरण संकलन र दाबी भुक्तानीको तयारी गरिरहेको बताए ।

उनका अनुसार प्रभावित क्षेत्रमा पुग्न नसक्दा अहिले नै कति रकमको दाबी पर्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन । यसअघिका महाविपत्तिमा परेको दाबीभन्दा यसपटकको दाबी निकै ठूलो हुने उनको आकलन छ ।

बाढीका कारण बीमितका आवश्यक कागजात तथा प्रमाण नष्ट भएको हुन सक्ने भएकाले न्यूनतम कागजातका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गर्न उनले नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् ।

क्षतिको वास्तविक मूल्याङ्कनका लागि प्रभावित क्षेत्रमा पुग्न आवश्यक भए पनि सडक तथा अन्य पूर्वाधार क्षतिग्रस्त भएकाले तत्काल फिल्डमा जान कठिन रहेको बैदावरले बताए। उनका अनुसार निजी घर, सवारीसाधन र गोदामलगायतको क्षतिको विवरण करिब १५ दिनमा संकलन हुन सक्ने भए पनि समग्र क्षतिको यकिन विवरण आउन एक महिनाभन्दा बढी समय लाग्न सक्छ ।

तपाइको प्रतिक्रिया
सुरुङमा कोही भेटिएनन्
विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत
जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धार तीव्र
पहिरोले दुई महिना थुनिएको मेची राजमार्गमा गुड्न थाले साना सवारी
सन्दीपको पाँच विकेटमा बहराइन ढल्यो, प्रिमियर कपमा नेपालले गर्‍यो शानदार सुरुवात
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×