
काठमाडौं । कृषि विभागले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न स्थलगत अध्ययन सुरु गरेको छ । विभागले कोशी प्रदेशका सुनसरी र उदयपुरदेखि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसम्मका विभिन्न जिल्लामा टोली परिचालन गरी अध्ययन थालेको हो ।
टोलीले गहुँ उत्पादनमा लाग्ने लागत, बीउ, मल, श्रम, मुद्रास्फीति तथा बजार मूल्यको अध्ययन गर्नेछ । स्थलगत अध्ययनपछि तयार हुने प्रतिवेदनका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरी कृषि, वन तथा पर्यावरण मन्त्रालयमा प्रस्ताव पठाइने विभागले जनाएको छ ।
सरकारले तोकेको समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत गहुँ खरिद गरिनेछ । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४० रुपैयाँ तोकिएको थियो ।

























