मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १९:५०
मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित

विराटनगर । मोरङ उद्योग व्यापार संघले ६९ औँ साधारण सभाको अवसरमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उत्कृष्ट उद्योगहरूलाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा आयोजित एक विशेष समारोहका बीच आर्थिक वर्ष २०८२ / ०८३ मा सबैभन्दा बढी निर्यात गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने उद्योगहरूलाई पुरस्कृत गरिएको हो ।

संघका अनुसार यस वर्ष सबैभन्दा बढी निर्यात गर्ने पशुपति खाद्य तेल उद्योगलाई प्रथम स्थानसहित सम्मान गरियो । त्यसैगरी, दोस्रो बढी निर्यातकर्ताका रूपमा अरिहन्त मल्टी फाइबर्स उद्योग र बागमती आयल इन्डस्ट्रिजलाई पनि सम्मान प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रले भोग्नु परेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भदौमा भएको ‘जेन्जी’ आन्दोलन र त्यसपछि रसुवा लगायतका क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण उद्योगीहरू ठुलो मारमा परेको बताए । ‘बाढीले सबै बगाएको अवस्थामा सरकारले रसुवा लगायतका क्षेत्रका उद्योगीहरूको ऋण मिनाहा गर्नुपर्छ,’ उपाध्यक्ष वैद्यले भने, ‘नीतिहरू व्यक्तिवादी होइन, संस्थागत र युवा लक्षित हुनुपर्छ ।’

Advertisement

सोही अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको खस्कँदो व्यापारिक साखप्रति चिन्ता व्यक्त गरे । नारायणगढ, चितवन र पोखरा जस्ता सहरहरू तीव्र गतिमा अगाडि बढिरहँदा विराटनगर खुम्चिएको भन्दै उनले विराटनगरवासीलाई गम्भीर हुन आग्रह गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना भएको नौ वर्ष भइसक्दा पनि स्थायी संरचना बनाउन नसकेको स्वीकार गर्दै जग्गा व्यवस्थापनका लागि सरोकारवालाहरूको ध्यान आकर्षण गराए ।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरूले विराटनगरको गौरवशाली इतिहास स्मरण गर्दै कुनै समय यो क्षेत्रले विदेशमा समेत धान–चामल निर्यात गर्ने गरेको बताएका थिए । उनीहरूले विराटनगरलाई पुनः पुरानै लयमा फर्काउन र व्यावसायिक हबका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×