
काठमाडौं । १ करोड ७२ लाख ८७ हजार रुपैयाँ बिगो बराबरका बैंकिङ कसुरका विभिन्न मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–९ बत्तीसपुतली बस्दै आएकी ४० वर्षीया धना शाही रहेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शाहीलाई भदौ १६ गते बिहान ११ बजे बत्तीसपुतलीबाट पक्राउ गरेको हो। पक्राउपछि फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौं, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
शाहीविरुद्ध बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतको २०८२ असोज ३० गतेको फैसलाले २ दिन कैद तथा २ लाख ५० हजार रुपैयाँ बिगोको ५ प्रतिशतले हुने १२ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। फैसला भएपछि उनी फरार रहँदै आएकी थिइन्।
प्रहरीका अनुसार शाहीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा थप ९ वटा बैंकिङ कसुर मुद्दा दर्ता छन्। ती मुद्दामा कुल १ करोड ७२ लाख ८७ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा ५ लाख, १२ लाख ५० हजार र ३६ लाख ९९ हजार रुपैयाँ बिगोका तीन मुद्दा छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा ८० लाख, १२ लाख, १० लाख ५० हजार र ४ लाख ३८ हजार रुपैयाँ बिगोका चार मुद्दा दर्ता छन्।
त्यस्तै, प्रहरी वृत्त गौशालामा ९ लाख र प्रहरी वृत्त नयाँ बानेश्वरमा २ लाख ५० हजार रुपैयाँ बिगोका एक–एक मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।

























