
रंगेली । ‘कहिल्यै नअस्ताउने सूर्यको सहर, गाउँ–सहर उज्यालो बनाउने सद्भावको रहर’ भन्ने भावनासहित विपद्मा ज्यान गुमाएकाहरूप्रति रंगेलीमा श्रद्धाञ्जली अर्पण गर्दै १०८ दीप प्रज्वलन गरिएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै सद्भाव बचत तथा ऋण सहकारी संस्था रंगेलीले संसारीमाई मन्दिरमा १०८ दीप प्रज्वलन गरेको हो । विश्वशान्तिको कामनासहित आयोजित कार्यक्रममा मन्दिरका पुजारीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेका थिए ।
धार्मिक मन्त्र उच्चारणसहित १०८ दीप प्रज्वलनको संकल्प गरिएपछि उपस्थित अतिथि तथा सहभागीहरूले सामूहिक रूपमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा रंगेली नगरपालिकाकी कार्यवाहक प्रमुख भुमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह, पूर्वमेयर दिलीप बगडिया, सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, पब्लिक उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्विनकुमार साह, समाजसेवी मचिन्द्र कटुवाल लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख पराजुलीले विपत्तिका बेला पीडित परिवारको दुःखमा स्थानीय सरकार र समुदाय एकजुट भएर उभिनुपर्ने बताइन् । भोटेकोशी बाढीमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
मानवीय तथा सामाजिक गतिविधिले विपत्तिमा परेका परिवारलाई प्रत्यक्ष सहयोगसँगै मानसिक रूपमा समेत हौसला प्रदान गर्ने पराजुलीको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले विपत्तिको समयमा गरिने यस्ता कार्यक्रमले समाजमा मानवीय संवेदना, एकता र सहयोगको भावना बलियो बनाउने बताए । विपत्तिमा परेका नागरिकलाई राज्यका निकायसँगै समुदायको साथ र सहयोग पनि उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे ।

सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको कामना गरे । १०८ दीप प्रज्वलन कार्यक्रम बाढीपीडितप्रति संस्थाको ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदनाको प्रतीक भएको उनले बताए ।
संस्थाले बाढी तथा विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोगसमेत गरेको अध्यक्ष ठाकुरले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले १०८ दीपमार्फत बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका मृतकको चिरशान्तिको कामना गरेका थिए । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा विपत्तिमा परेका परिवारलाई दुःख सहन सक्ने शक्ति र धैर्य मिलोस् भन्ने कामना पनि गरिएको थियो ।
कार्यक्रमले विपद्का बेला पीडितप्रति सहानुभूति, सामाजिक एकता, सहयोग र मानवीय संवेदना अभिव्यक्त गर्न समुदायलाई एकताबद्ध बनाउने सन्देश दिएको सहभागीहरूले बताएका छन् ।


























