
विराटनगर । जिल्ला कागागार मोरङको ‘ए ब्लक’का कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन् ।
कैदीबन्दी आफैंले संकलन गरेको सहयोग रकम बाढीपीडितलाई उपलब्ध गराउनका लागि बुधबार कारागार प्रशासक राजन घिमिरेलाई बुझाएका छन् । घिमिरेले कैदीबन्दीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिए ।
उनका अनुसार कैदीबन्दीले स्वस्फूर्त रूपमा रकम संकलन गरेर बाढीपीडितका लागि उपलब्ध गराएका हुन् । कारागारको ‘ए ब्लक’का कैदीबन्दीले १ लाख ११ हजार १ सय ११ रूपैयाँ बाढीपीडितलाई सहयोग गरेको घिमिरेको भनाइ छ ।
उक्त ‘ब्लक’मा ५ सय ५६ जना पुरुष कैदीबन्दी रहेका छन् । कारागारमा ‘ए’ र ‘बी’ तथा महिला गरेर तीनवटा अलगअलग ‘ब्लक’मा कैदीबन्दी राखिएको छ ।



















