
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा लागेको भदौरे मेला भर्न पुगेका खोटाङका एक शिक्षकको कुटपिट गरी हत्या भएको छ । शिक्षकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले खोटाङको केपिलासगढी गाउँपालिका–७ का ५ महिलासहित ११ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सोही वडाका ३९ वर्षीय शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या गरिएको प्रहरीले जनाएको छ । उनी स्थानीय सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक थिए ।
प्रहरीका अनुसार गत भदौ ११ गते राति साढे ११ बजेतिर साल्पासिलिछो–५ माबुस्थित मेलामा राईमाथि समूहगत रूपमा कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका राईको मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ पर्नेहरू सबै मृतककै गाउँका बासिन्दा हुन् । पक्राउ पर्ने २१ वर्षीय सागर कोयी राई, २१ वर्षीय प्रतीक राई, २५ वर्षीय निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय अमर राई र ३० वर्षीय उमेश दुमी राई रहेका छन् ।
त्यस्तै, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देवीका राई र २० वर्षीया चन्द्रकला राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















