
विराटनगर । जिल्ला अदालत मोरङ र जिल्ला प्रशासन कार्यालय मोरङबाट विभिन्न मितिमा फैसला भई फरार रहेका १५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बुधबार साँझ उनीहरूलाई आ-आफ्नो घरठेगानाबाट पक्राउ गरेको हो । पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ र जिल्ला प्रशासन कार्यालय विराटनगरमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का प्रमोदकुमार स्वर्णकार छन् । चेक अनादर मुद्दामा जिल्ला अदालत मोरङले २०८२ भदौ ५ गते उनलाई ३ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
यस्तै, जुवा मुद्दामा फैसला भई फरार रहेका विराटनगर-२ का ११ जना पक्राउ परेका छन् । उनीहरूमा ३७ वर्षीय राघव बियानी, ३९ वर्षीय बिनित लावती, ३८ वर्षीय शेरसिंह दुगड, ३९ वर्षीय बलराम भन्ने हेमबहादुर खत्री, ४९ वर्षीय महेश राठी, ४९ वर्षीय सुशील मुन्धडा, ४९ वर्षीय पवनकुमार शर्मा, ५० वर्षीय बासु भन्ने निरज राठी, ४७ वर्षीय बज्रङ राठी र ७० वर्षीय बंशीकुमार राठी छन् ।
जुवासम्बन्धी मुद्दामा राघव बियानी, बिनित लावती, शेरसिंह दुगड, हेमबहादुर खत्री, महेश राठी, सुशील मुन्धडा, पवनकुमार शर्मा, निरज राठी र बज्रङ राठीलाई जनही ५ हजार रुपैयाँ तथा बंशीकुमार राठीलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
अभद्र व्यवहार मुद्दामा फैसला भई फरार रहेका विराटनगर-४ का २३ वर्षीय सुगम भन्ने शुभम केशरी, विराटनगर-६ का ४२ वर्षीय बब्लु भन्ने साहिद हुसेन, विराटनगर-३ का ३० वर्षीय कृष्ण पोखरेल र विराटनगर-८ का ३७ वर्षीय सञ्जय मण्डल पनि पक्राउ परेका छन् ।
उनीहरूमध्ये शुभम केशरी र साहिद हुसेनलाई जनही ४ हजार, कृष्ण पोखरेललाई ५ हजार तथा सञ्जय मण्डललाई ४ हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई सम्बन्धित अदालत तथा प्रशासन कार्यालयमा दाखिला गरी फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।



















