
विराटनगर । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार कर्मचारीको एक दिनको पारिश्रमिक र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम गरी उक्त सहयोग गरिएको हो । ‘विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले सहयोग गरेका हौं,’ मण्डलले भने, ‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं ।’
संस्थाले भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।


























