
विराटनगर । रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।
विराट ग्रुपका कर्मचारीको एक दिनको तलबबाट संकलित ४७ लाख ५० हजार रुपैयाँ र ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले व्यक्तिगत रूपमा दिएको २४ लाख ५० हजार रुपैयाँ गरी ७२ लाख रुपैयाँ कोषमा जम्मा गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को कठिन समयमा प्रभावित परिवारसँग साथमा रहेको जनाएको छ ।
यसअघि अध्यक्ष कार्कीले विपद्का कारण घाइते भई उपचार आवश्यक पर्ने नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन् । सोहीअनुसार विराट मेडिकल कलेज टिचिङ हस्पिटलले घाइते तथा प्रभावितको उपचारका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक तथा विशेषज्ञ सेवा, शल्यक्रिया, आईसीयू, अस्पताल शय्या तथा आवश्यक चिकित्सा उपकरण तयारी अवस्थामा राखेको जनाएको छ ।
यस्तै, विराट हेल्थकेयर इन्डस्ट्रिज प्रालिले बाढी प्रभावित महिलाको महिनावारी स्वास्थ्यलाई ध्यानमा राख्दै सेनेटरी प्याड, डायपरलगायत आवश्यक सामग्री सहयोग गरेको जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय विराट ग्रुपअन्तर्गतका विराट नर्सिङ होम, विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट मेडिकल कलेज र विराट हेल्थकेयर इन्डस्ट्रिजले विपद्का समयमा प्रभावितको उपचार तथा स्वास्थ्य सेवामा सहयोग गर्दै आएको जनाएको छ ।



















