
विराटनगर । विराटनगरमा शनिबार निकाल्न लागिएको ५९औँ राधाकृष्ण रथयात्राले धार्मिक आस्था, सांस्कृतिक मौलिकता, सामाजिक एकता र मानवीय सेवाको सन्देशलाई थप सशक्त बनाउने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताएका छन् ।
शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको ऐतिहासिक परम्परा भएको बताए । उनका अनुसार रथयात्राले पुस्तौँदेखि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको भावना अभिवृद्धि गर्दै आएको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा धार्मिक उत्सवमा मात्र सीमित नभई विराटनगरको इतिहास, मौलिक संस्कृति र सामूहिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत भएको उनको भनाइ छ ।
विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको यो परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा अघि बढेको हो । खट यात्रासहित परम्परा ९५औँ यात्रामा पुगेको छ भने शनिबार रथयात्राको ५९औँ संस्करण हुँदैछ ।
यस वर्ष नेपालका विभिन्न जिल्ला तथा भारतबाट ५ लाखभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ । दिउँसो ३ बजे राधाकृष्ण मन्दिरबाट सुरु हुने करिब ८ किलोमिटर लामो यात्राले तीनपैनी, गोल्छा, ट्राफिक, रोडशेष र महेन्द्र चोक हुँदै कोशी राजमार्ग, बरगाछी र दुर्गा चोक परिक्रमा गरी मन्दिरमै फर्किनेछ । यात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।
यसपटक धार्मिक मौलिकता कायम गर्न डीजेमा प्रतिबन्ध लगाई भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत प्रस्तुतिलाई प्राथमिकता दिइएको छ । रथमा दुईवटा हर्न माइकबाट भजन बजाइनेछ भने विभिन्न स्थानमा स्थानीय भजन मण्डलीले प्रस्तुति दिनेछन् । रथयात्रामा ९४ वटा धार्मिक, सांस्कृतिक तथा सामाजिक झाँकी सहभागी हुनेछन् ।
रथयात्रामा संकलित भेटी तथा दानपेटिकाको रकम धार्मिक गतिविधिमा खर्च नगरी भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिनेछ । तीनवटा दानपेटिकाबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।
रथयात्रालाई व्यवस्थित बनाउन १ हजार १ सदस्यीय मूल समारोह समिति र २१ उपसमिति गठन गरिएको छ । सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, यातायात र स्वयंसेवक परिचालनमा विशेष व्यवस्था गरिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनसँगै आकाशबाट निगरानी गर्ने उपकरणसमेत प्रयोग गरिनेछ । मेयर कोइरालाले रथयात्रालाई शान्त, सभ्य, सुरक्षित र मर्यादित बनाउन सबैमा आग्रह गरेका छन् ।

























