
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारमा घरमा पुरिएको अवस्थामा आज (आइतबार) एक जनाको शव भेटिएको छ ।
भोटेकोशी बाढी आएको १२औँ दिनमा भेटिएको शव करिब ४५ वर्षीय राजेश जोशीको रहेको पुष्टि भएको नुवाकोटका प्रहरी प्रमुख (एसपी) विपिन रेग्मीले जानकारी दिए ।
विदुरबाट पारिपट्टिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकायाको नेतृत्वमा प्रहरी टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार मृतकको दायाँ हातमा रहेको ट्याटुका आधारमा पहिचान खुलेको हो । उनको नाडीमा पत्नी ‘दीपिका’ को नाम लेखिएको भेटिएपछि शवको सनाखत गरिएको प्रहरीले जनाएको छ ।
जोशी परिवारका एकै घरका पाँच जना सदस्य बाढीमा परेर सम्पर्कविहीन भएका थिए । यसैबीच, त्रिशूली बजारमै घरभित्र मृत अवस्थामा भेटिएकी सरिता जोशीको पनि पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिए ।
बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजीका लागि सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

























