
विराटनगर । विराटनगरमा निकालिएको ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले नियन्त्रणमा लिएका १ सय १३ जनामध्ये १७ जनामाथि अनुसन्धान अघि बढाइएको छ ।
चोरी, पाकेटमारी, उच्छृङ्खल तथा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएकामध्ये १७ जनालाई कानुनी प्रक्रियामा लगिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले ८ जना र इलाका प्रहरी कार्यालय रानीले ९ जनामाथि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार पक्राउ परेकामाथि चोरी र अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
रथयात्राको भिडमा चोरी तथा पाकेटमारीमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका केही व्यक्तिबाट चोरीका मोबाइललगायतका सामानसमेत बरामद भएको उनले बताए । चोरीका सामान साथमै फेला परेकामाथि चोरी कसुरमा अनुसन्धान भइरहेको छ ।
त्यस्तै, चोरीका सामान फेला नपरेका तर धार्मिक रथयात्राको भिडमा उच्छृङ्खल तथा अवाञ्छित गतिविधि गरी शान्ति–सुरक्षामा असर पुर्याउन खोज्नेमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए ।
रथयात्राका क्रममा प्रहरीले शनिबार १ जना महिलासहित १ सय १३ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये १ जना महिलासहित ९६ जनालाई भने सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरी आफन्त तथा परिवारका सदस्यको जिम्मा–जमानीमा छाडिएको छ ।
डीएसपी मिश्रका अनुसार सीआरएस अध्ययन गर्दा उनीहरूको विगत आपराधिक गतिविधिसँग जोडिएको नदेखिएपछि आवश्यक सोधपुछ तथा प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको हो । ‘नियन्त्रणमा लिइएकामध्ये १७ जना पुरुषमाथि अनुसन्धान सुरु गरिएको छ । १ जना महिलासहित ९६ जनालाई सीआरएस हेरेर आफन्त एवं परिवारका सदस्यको जिम्मा–जमानीमा छाडिएको हो,’ मिश्रले भने ।
हजारौँ मानिस सहभागी रथयात्राको भिडमा चोरी, पाकेटमारी, उच्छृङ्खल तथा अन्य अवाञ्छित क्रियाकलाप हुनसक्ने भन्दै प्रहरीले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी बढाएको थियो । सोही क्रममा शंकास्पद देखिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।
रथयात्राका क्रममा आफ्ना सामान हराएको भन्दै प्रहरीमा ठूलो संख्यामा निवेदनसमेत परेका छन् । हालसम्म मोबाइल हराएका ७० वटा, सुनको सिक्री हराएका ५ वटा तथा पर्स र अन्य सामान हराएका २ वटा निवेदन प्रहरीमा परेको जानकारी डीएसपी मिश्रले दिए ।
उनका अनुसार हराएका सामानसम्बन्धी निवेदनमाथि प्रहरीले अध्ययन गरिरहेको छ । थप निवेदन आउने क्रमसमेत जारी रहेकाले प्राप्त विवरणका आधारमा घटनाको प्रकृति र संलग्न व्यक्तिका बारेमा अनुसन्धान अघि बढाइने उनले बताए ।
‘परेका निवेदनहरूको अध्ययन भइरहेको छ । अझै निवेदन पर्ने क्रम जारी छ । निवेदनको अध्ययन गरेर त्यसलाई कुन तरिकाले कानुनी प्रक्रियामा लैजान सकिन्छ भन्ने निर्णय हुन्छ,’ मिश्रले भने ।
प्रहरीले रथयात्राका क्रममा भएका चोरी तथा अन्य घटनाको अनुसन्धानलाई प्राविधिक पक्षबाट समेत अघि बढाउने भएको छ । घटनासँग सम्बन्धित सीसी क्यामेरा फुटेज, प्रहरीको सोधपुछबाट खुलेका तथ्य तथा पक्राउ परेकाहरूको बयानलाई आधार बनाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार रथयात्रामा सहभागीमध्ये कतिपयले आफ्ना मोबाइल, पर्स, सुनका गहना तथा अन्य सामानको सुरक्षामा पर्याप्त ध्यान नदिँदा चोरी वा हराउने घटना भएको देखिन्छ । ‘प्रहरीले भिडभाड हुने स्थानमा सहभागीहरूलाई आफ्ना बहुमूल्य सामानको सुरक्षामा विशेष ध्यान दिनसमेत आग्रह गरेको थियो,’ उनले भने, ‘रथयात्रामा ठूलो संख्यामा मानिस सहभागी भएकाले प्रभावकारी सुरक्षा व्यवस्थासँगै चोरी, पाकेटमारी र शंकास्पद गतिविधिमाथि विशेष निगरानी बढाइएको थियो ।’
नियन्त्रणमा लिइएका व्यक्तिमध्ये १७ जनामाथि अनुसन्धान अघि बढेपछि रथयात्राका क्रममा भएका चोरी तथा अन्य अवाञ्छित गतिविधिको वास्तविकता थप खुल्ने प्रहरीले जनाएको छ ।

























