
भोजपुर । ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोका काठमाडौंसहित, विराटनगर, इटहरी, धरान, दमकलगायत ठूला सहरका बजारसम्म पुग्न थालेका छन् । बजारको पहुँच बढेपछि किसानले घरआँगनबाटै खसीबोका बिक्री गर्न र उचित मूल्य पाउन थालेका छन् ।
विगतमा दसैं–तिहारजस्ता ठूला चाडपर्वमा मात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गरेका थिए। किसानले बिक्रीका लागि हाटबजारसम्म खसीबोका डोर्याएर लैजानुपर्ने र अपेक्षित मूल्य नपाउने समस्या थियो। अहिले भने गाउँका खसीबोका काठमाडौं, धरान, इटहरी र विराटनगरसम्म पुग्न थालेका छन् ।
हाल गाउँमै जिउँदो खसीबोका प्रतिकिलो ५०० देखि ६०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । मूल्य र बजारको पहुँच सहज भएपछि जिल्लामा बाख्रापालनप्रति किसानको आकर्षणसमेत बढेको छ ।
स्थानीय व्यापारी गणेश विष्टका अनुसार भोजपुरबाट अहिले मासिक करिब २०० खसीबोका काठमाडौं पठाउने गरिएको छ । गाउँबाट संकलन गरिएका खसीबोका काठमाडौं ढुवानी गर्दा प्रतिगोटा ८०० देखि एक हजार ५०० रुपैयाँसम्म भाडा लाग्ने गरेको उनले बताए ।
टेम्केमैयुङ गाउँपालिका–५, मझौलेका किसान हर्कराज लुइँटेलले घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किसानलाई सहज भएको बताए । घरमै तराजुमा जोखेर बिक्री हुने भएकाले ठगिने सम्भावना कम हुनुका साथै आवश्यक परेको बेला तत्काल बिक्री गरेर खर्च टार्न सहज भएको उनको भनाइ छ ।
‘अहिले व्यापारी आफैं खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ,’ लुइँटेलले भने । अर्का किसान रमेश विष्टले पनि घरबाटै खसीबोका बिक्री गर्न सकिने भएपछि बाख्रापालनबाट राम्रो आम्दानी गर्ने अवसर बढेको बताए ।
सडक सुविधाका कारण बजारसम्मको पहुँच विस्तार भएपछि भोजपुरका दुर्गम गाउँमा बाख्रापालन किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ ।



















