बाढीपीडितका लागि विराटनगरमा ‘सिफारिस’को मञ्चन

Share this
712shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८३ भाद्र २२, सोमबार ११:०७

विराटनगर । भोटेकोशी बाढीपीडितको सहयोगार्थ विराटनगरमा नाटकमार्फत राहत अभियान सुरु गरिएको छ ।

आरोहण गुरुकुल विराटनगरमा साहित्यकार धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चन गर्दै अभियान सुरु गरिएको हो । भदौ २१ देखि २४ गतेसम्म हरेक दिन साँझ ५ बजे नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

Advertisement

नाटकबाट प्राप्त सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने कार्यक्रम संयोजक देवेन्द्र यादव ‘आरोग्य’ले जानकारी दिए ।

मृत्यु दर्तासँग जोडिएको संवेदनशील घटनालाई कथाको मुख्य विषय बनाइएको ‘सिफारिस’ले मधेसी समाजको सामाजिक परिवेशसँगै महिला हिंसा, दाइजो प्रथा र सामाजिक जालझेलका विषयलाई मञ्चमा प्रस्तुत गरेको छ ।

नाटकका लागि ३००, ५०० र १ हजार रुपैयाँका टिकट तोकिएको छ । विद्यार्थीका लागि भने विशेष सहुलियतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नाटकमा दानबहादुर अधिकारी, राजेश ठाकुर, निशान चौहान राई, महेश पासवान, सङ्गीता यादव, प्रदीप दाहाल, गीता कोइराला, अमिशा वाग्ले, डेविड विष्ट, स्नेहा पोख्रेल र भरत कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

आयोजकका अनुसार भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अभियान सञ्चालन गरिएको हो । टोलीले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्र बनाउन र उनीहरूको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न पनि आयोजकले सरकारसँग माग गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×