
विराटनगर । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त भई मानवीय र धनजनको क्षति भएको प्रति राठी ग्रुपले गहिरो दुःख व्यक्त गरेको छ । यस कठिन घडीमा बाढी प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले ग्रुपले आर्थिक सहयोग प्रदान गरेको हो ।
आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत राठी ग्रुपले बाढीपीडितहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख रुपैयाँ सहयोग प्रदान गरेका छ ।
सहयोग हस्तान्तरणका क्रममा राठी ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भोटेकोशीको बाढीले धेरै परिवारको जीवनमा गहिरो पीडा र संकट छोडेको छ। यो चुनौतीपूर्ण समयमा पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा राठी ग्रुप पूर्ण रूपमा सहभागी छ। हाम्रो यो सानो योगदानले पीडित परिवारहरूलाई थोरै भए पनि राहत, नयाँ आशा र सहारा दिन सकोस् भन्ने हाम्रो हार्दिक कामना छ ।’
विपत्तिको समयमा एकता, मानवता र एकअर्काप्रतिको निस्वार्थ सहयोग नै सबैभन्दा ठुलो शक्ति हुने विश्वास राठी ग्रुपले व्यक्त गरेको छ । प्राकृतिक प्रकोपका कारण सिर्जित यो कठिन अवस्थामा सबैलाई एकताबद्ध भई पीडितको साथमा उभिन समेत ग्रुपले अपिल गरेको छ ।
राठी ग्रुपले राठी कोल, राठी स्वीच, इनेमेल वायर आदि उत्पादन गर्दै आएको छ । राठी ग्रुपले विगतदेखि नै देशमा पर्ने विभिन्न संकट र प्राकृतिक विपत्तिहरूमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको जनाएको छ ।

























