
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा ३५ वर्षीय राजकुमार खत्री आफ्नै सुत्ने कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका छन् । भदौ १९ गते दिउँसो १ बजे सार्वजनिक भएको यस घटनाको अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा मृतककी ३५ वर्षीया श्रीमती सलिना घले, ६० वर्षीया आमा गोमा खत्री, र ३३ वर्षीय भाइ दिनेश खत्री रहेका छन् । साथै, स्थानीय ४५ वर्षीय अमर खत्री र राजेन्द्र घलेलाई पनि नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा अस्पतालमा शवको पोस्टमार्टम सम्पन्न भई भदौ २२ गते मृतककी दिदी सजिना खत्रीलाई बुझाइएको छ । घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

























