
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारको विकास र सुधारका लागि आवश्यक कानुनी उपाय पहिचान गरी पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँगको छलफलमा अर्थमन्त्री वाग्लेले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक सुधारका उपाय अघि बढाउन निर्देशन दिएका हुन् ।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए । पछिल्लो समय नेप्से परिसूचक २ हजार ५ सय अंकको आसपास रहे पनि कारोबार रकम कमजोर देखिएको छ । पछिल्लो छ महिनामा नेप्से करिब ४ सय अंकले घटेको छ भने बजार पुँजीकरणमा करिब ७ खर्ब रुपैयाँले कमी आएको छ ।
लगानीकर्ताको मनोबल कमजोर बनेको र समग्र आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा सेयर बजार सुधार योजना तयार गरिरहेको जनाएको छ । मन्त्रालयका अनुसार योजनामा बजारलाई कृत्रिम रूपमा उचाल्नेभन्दा यसको आधार बलियो बनाउने, नियमनलाई पारदर्शी र प्रभावकारी बनाउने तथा लगानीकर्ताको हित संरक्षण गर्ने विषयलाई प्राथमिकता दिइनेछ ।
बजार सुधारका प्रयास भइरहे पनि लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, सेयरको मूल्य र सम्भावित जोखिमको विश्लेषण गरेर मात्रै लगानी रणनीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । नेपाल धितोपत्र बोर्डले पनि नेप्से, सीडीएससी र ब्रोकर कम्पनीलाई बजारलाई थप प्रविधिमैत्री, पारदर्शी र सुरक्षित बनाउन विभिन्न निर्देशन दिइसकेको छ ।

























