
विराटनगर । नेपाल प्रेस युनियन मोरङको १२ औँ अधिवेशनबाट भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएकाे हो ।
कार्य समितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला चयन भएका छन् भने महिला उपाध्यक्षमा उषा सरदार निर्वाचित भएकी छन् । त्यसैगरी, सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अन्जना पराजुली तथा कोषाध्यक्षमा दिलीप अग्रवाल सर्वसम्मत चयन भए ।
त्यस्तै, सदस्यहरूमा पुरुषोत्तम कट्टेल (सरस), सुभाष भण्डारी, पारस मण्डल, दीपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, समय घिमिरे र भोजराज घिमिरे निर्विरोध निर्वाचित भए ।
अधिवेशनको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पत्रकारहरूलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ । ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ पत्रकार शंकर खरेल, ‘शैलजा आचार्य पत्रकारिता पुरस्कार’ बाट ब्रह्मदेव यादवलाई सम्मानित भए ।
त्यसैगरी, ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ बाट भोजराज बस्नेत र तारा आचार्य सम्मानित भए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै लोकतन्त्रको रक्षा र नागरिकको सूचनाको हक सुनिश्चित गर्न प्रेस युनियनले सदैव पहरेदारको भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आगामी वर्षदेखि आफ्नो बुवाआमाको नामबाट एक जना पत्रकारलाई सम्मान गर्ने घोषणासमेत गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले प्रेस युनियन श्रमजीवी पत्रकारहरूको हकहितका लागि सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष भोजराज बस्नेतले सबैलाई समेटेर मोरङको पत्रकारिता र प्रेस युनियनको साखलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि डिकबहादुर लिम्बू, युनियनका महासचिव दिलीप पौडेल, उपमहासचिवद्वय अभयकुमार राई र रविन्द्र सुवेदीलगायतले सम्मान गरे ।



















