
विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघले प्रदेश खेलकुद विकास बोर्डबाट प्राप्त गरेको ६ लाख रुपैयाँ बेरुजु देखिएपछि उक्त रकम फिर्ता गरेको छ । आर्थिक पारदर्शिता र सुशासनलाई ध्यानमा राख्दै संघले २०८० सालमा अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको छनौट खेल तथा तयारीका लागि लिएको रकम फिर्ता गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा बोर्डबाट प्राप्त उक्त रकमको खर्च प्रक्रियामा बेरुजु देखिएपछि संघले गत भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खातामा सो रकम जम्मा गरेको छ । रकम जम्मा गरेसँगै संघले बेरुजु फर्छ्यौट गरिदिन बोर्डमा निवेदन समेत दर्ता गराएको छ ।
काेशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले खेलकुद क्षेत्रमा देखिने बेरुजुले समग्र खेल जगतको छविमा असर पार्ने बताए । उनले विभिन्न जिल्ला खेलकुद समिति र खेल संघहरूका नाममा लामो समयदेखि थुप्रिएको बेरुजु फर्छ्यौट गर्न बोर्डले सक्रियताका साथ काम गरिरहेको जानकारी दिए ।
‘खेल र खेलाडीको विकासका लागि लगानी गरिएको सरकारी रकमको हिसाब पारदर्शी हुनुपर्छ,’ सदस्यसचिव घोषले भने, ‘विभिन्न कारणले बेरुजु देखिँदा खेल क्षेत्रमाथि नै प्रश्न उठ्ने भएकाले हामीले कडाइका साथ फर्छ्यौट प्रक्रिया अगाडि बढाएका हौँ ।’
बेरुजु फर्छ्यौट गर्ने अभियान अन्तर्गत बोर्डले यसै आर्थिक वर्षमा जिल्ला खेलकुद विकास समिति खोटाङबाट असुलउपर गर्नुपर्ने ८ लाख रुपैयाँ फिर्ता लिइसकेको छ । यस्तै, जिल्ला खेलकुद विकास समिति तेह्रथुमको नाममा रहेको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै बोर्डले सो रकम असुल गर्न कानुनी प्रक्रिया समेत सुरु गरिसकेको छ ।

























