बाढीले अर्थतन्त्रमा पार्न सक्ने असरबारे विश्व बैंकको चासो

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार ११:०१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच रसुवाको भोटेकोशी बाढीबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा परेको प्रभावबारे छलफल भएको छ ।

महासंघ सचिवालय टेकुमा भएको भेटमा अध्यक्ष श्रेष्ठले बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्रै नहेरी यसले नेपालको आर्थिक गतिविधिमा पार्न सक्ने व्यापक प्रभावलाई समेत ध्यान दिनुपर्ने बताए । सरकारको प्रारम्भिक मूल्यांकनअनुसार बाढीबाट करिब ३ खर्ब ८७ अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको उल्लेख गर्दै श्रेष्ठले पूर्ण क्षतिको विवरण संकलन तथा मूल्यांकन भइरहेको जानकारी दिए । बाढीले कतिपय शहर तथा बस्ती नै बगाएकाले यथार्थ विवरण संकलनमा कठिनाइ भइरहेको उनको भनाइ थियो ।

Advertisement

मिजियावाले बाढीबाट निजी क्षेत्रमा परेको वास्तविक क्षति, उद्योग–व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात तथा व्यापारमा परेको असरका साथै उद्योग, पर्यटन र साना तथा मझौला उद्यममा परेको प्रभावबारे जानकारी लिएका थिए ।

उनले क्षतिको यथार्थ विवरण, व्यवसायिक क्षेत्रमा परेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव र पुनःस्थापनाको अवस्थाबारे थप तथ्य आवश्यक रहेको बताए । विस्तृत विवरण र आर्थिक गतिविधिमा परेको प्रभावको विश्लेषणपछि मात्रै बाढीले नेपालको आर्थिक वृद्धिमा पार्ने समग्र असरबारे निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो ।

श्रेष्ठले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार, सडक, पुल, घर तथा व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेको बताए । भौतिक संरचनासँगै आपूर्ति शृङ्खला, यातायात, विद्युत्, बजार पहुँच र व्यापारमा आएको अवरोध निजी क्षेत्रका लागि ठूलो चुनौती बनेको उनको भनाइ थियो ।

विशेषगरी रसुवागढी व्यापारिक करिडोरमा आएको अवरोधले चीनसँगको व्यापारसँगै देशभरको आपूर्ति व्यवस्थामा असर पार्न सक्ने श्रेष्ठले बताए। यसको प्रभाव प्रभावित क्षेत्रबाहिर रहेका आयातकर्ता, व्यापारी, ढुवानी व्यवसायी तथा उपभोक्तासम्म पुग्न सक्ने उनले उल्लेख गरे ।

भेटमा नेपाल विकास अपडेट–२०२६ का विषयमा समेत छलफल भएको थियो। श्रेष्ठले बाढीबाट भएको भौतिक क्षतिसँगै उत्पादन, रोजगारी, आम्दानी, व्यापार, लगानी, ऋण तथा निजी क्षेत्रको व्यावसायिक मनोबलमा परेको प्रभावलाई समेत अध्ययनमा समेट्न विश्व बैंकलाई आग्रह गरे । विश्व बैंकका प्रतिनिधिहरूले प्रभावित व्यवसाय तथा समुदायको पुनःस्थापना र आर्थिक गतिविधिको पुनरुत्थानका लागि आवश्यक सहयोग तथा सहकार्यमा चासो व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×