अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १८:२५
अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती

विराटनगर । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्योग तथा व्यवसाय क्षेत्रमा पर्न सक्ने प्रभाव, अवसर र चुनौतीबारे कोशी प्रदेशमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यम सुदृढीकरण’ परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थासँग आबद्ध करिब उद्यमीको सहभागिता रहेको थियो ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएका कार्यक्रममा बोल्दै उनले विकासशील मुलुकमा स्तरोन्नति हुनु नेपालको आर्थिक तथा सामाजिक प्रगतिका लागि महत्त्वपूर्ण उपलब्धि भए पनि यससँगै निजी क्षेत्रले नयाँ चुनौतीको सामना गर्नुपर्ने बताए ।

उनले भने, ‘स्तरोन्नतिसँगै अवसर आउँछन्, तर त्यससँगै चुनौती पनि थपिन्छन् । त्यसैले नेपाली उद्यमी तथा व्यवसायीले सम्भावित प्रभावको अध्ययन गरी प्रतिस्पर्धात्मक क्षमता बढाउन अहिलेदेखि नै तयारी गर्न आवश्यक छ ।’

कार्यशालामा विशेष गरी महिला उद्यमीले सञ्चालन गरेका साना तथा मझौला उद्यममा स्तरोन्नतिपछि पर्न सक्ने प्रभाव, बजार विस्तार, लगानी, उत्पादन र प्रतिस्पर्धाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा परामर्शदाता भोजराज पौडेलले स्तरोन्नतिपछि नेपाली उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभाव, संयुक्त राष्ट्र संघमा अघि बढाइएको एजेन्डा, सम्भावित चुनौती तथा निजी क्षेत्रको भूमिकाबारे बताएका थिए ।

छलफलका क्रममा उद्यमीहरूले वित्तीय पहुँच, बजार विस्तार, कच्चा पदार्थ आयात, निर्यात, सरकारी लगानी तथा स्वदेशी उत्पादन प्रवर्द्धनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

लेटाङ उद्योग वाणिज्य संघकी कुमारी थापा गुरुङले आफूले सञ्चालन गरेको ब्याग उद्योगमा लगानी तथा बजारीकरणको समस्या रहेको बताउँदै स्तरोन्नतिपछि व्यवसायमा पर्न सक्ने प्रभावबारे चासो व्यक्त गरिन् ।

मोरङ उद्योग व्यापार संघकी श्रुति शर्माले महिला उद्यमीले सञ्चालन गरेका उद्यमलाई वित्तीय पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् । विराट बायोटेकका ढुण्डी ढकालले स्तरोन्नतिले निर्यात क्षेत्रमा पार्न सक्ने प्रभावबारे प्रश्न गर्दै राज्यको लगानी, आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले भारतसँगको खुला सीमाका कारण नेपाली उत्पादनले प्रतिस्पर्धामा समस्या भोगिरहेको उल्लेख गर्दै तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात बढाउन उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता सुधार गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी महिला उद्यमी समितिकी सभापति कृति श्रेष्ठ उपाध्यायले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिलाई अवसरका रूपमा उपयोग गर्न महिला उद्यमीले उत्पादन, बजार, प्रविधि र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

कार्यशालाले नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि निजी क्षेत्र, विशेष गरी महिला, साना तथा मझौला उद्यमीले सामना गर्न सक्ने चुनौती र त्यसका लागि आवश्यक पूर्व तयारीबारे महत्त्वपूर्ण छलफलको अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×