
एजेन्सी । मध्यपूर्वमा इरान र अमेरिकाबीचको सैन्य तनाव चर्किँदै जाँदा त्यसको प्रभाव विश्व ऊर्जा बजारसम्म फैलिन थालेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमाथि थप प्रतिबन्ध र उच्च शुल्क घोषणा गरेपछि दुई देशबीचको व्यापार विवाद पनि गहिरिँदै गएको छ ।
इरानले अमेरिकी आक्रमणको जवाफ दिने क्रममा होर्मुज जलघाँटी हुँदै अघि बढिरहेका अमेरिकी जहाज र तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका अनुसार दुई अमेरिकी जहाज, आठ तेल ट्यांकर र १० गैर–अनुपालन जहाजलाई लक्षित गरिएको छ । कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्यांकरलाई समेत आक्रमण हुनसक्ने चेतावनी दिँदै चालक दललाई जहाज खाली गर्न भनिएको छ ।
होर्मुज जलघाँटी विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग भएकाले त्यहाँ हुने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो असर पार्न सक्छ । पछिल्लो तनावसँगै बुधबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९९.४६ अमेरिकी डलर पुगेको छ । त्यस्तै वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य ९४.४५ डलर पुगेको छ ।
इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामाथि पनि क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ । जवाफमा जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको जनाएको छ । यसअघि इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अली अब्दुल्लाहिले इरानी तेल ट्यांकरमाथि आक्रमण भए मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाउने चेतावनी दिएका थिए ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी तेलवाहक जहाजबाट अमेरिकी युद्धपोततर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि अमेरिकी सेनाले मंगलबार पाँच इरानी तेलवाहक जहाज नष्ट गरेको थियो । इरानी सञ्चारमाध्यमले खर्ग टापुनजिकै एउटा सानो तेल ट्यांकरमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको तथा जास्क बन्दरगाहमा विस्फोट भएको समाचार दिएका छन् ।
तनाव समुद्री क्षेत्रमा मात्र सीमित छैन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यमनका हुथी विद्रोहीले साउदी अरबमाथि गरेको पछिल्लो आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएका छन् । चार वर्षको युद्धविरामपछि यमनमा पुनः द्वन्द्व चर्किएका बेला हुथीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्डब आसपास आफ्नो गतिविधि बढाएका छन् ।
इरानले अमेरिकी मानवरहित पनडुब्बी तथा एमक्यू–१ ड्रोन नष्ट वा कब्जा गरेको दाबी गरेको छ । अमेरिकी सेनाले भने पानीमुनि सञ्चालन हुने ड्रोनमा प्राविधिक समस्या आएको र त्यसमा संवेदनशील सूचना नरहेको जनाएको छ ।
सैन्य कारबाहीसँगै वासिङ्टनले तेहरानमाथि आर्थिक दबाब पनि बढाएको छ । अमेरिकी अर्थ मन्त्रालयले इरानको उड्डयन क्षेत्रमार्फत हतियार, कर्मचारी तथा अवैध कार्गो ओसारपसारमा सहयोग गरेको आरोपमा ३६ व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध लगाएको जनाएको छ ।
मध्यपूर्वमा सैन्य तनाव बढिरहेका बेला अमेरिकाको अर्को महत्वपूर्ण व्यापारिक साझेदार क्यानाडासँग पनि विवाद चर्किएको छ । ट्रम्प प्रशासनले विभिन्न क्यानाडाली वस्तुमाथि थप प्रतिबन्ध र उच्च शुल्क लगाउने निर्णय गरेपछि दुई देशबीचको व्यापारिक सम्बन्धमा दबाब बढेको हो ।
ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ । मादक पेय पदार्थ तथा केही दुग्धजन्य वस्तुको आयातमा भने सेप्टेम्बर २९ देखि प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
यसअघि अगस्ट २२ मा अमेरिकाले क्यानाडाली वस्तुमा शुल्क लगाएपछि ओटावाले पनि अमेरिकी आयातमाथि २७ अर्ब ६० करोड क्यानाडाली डलर बराबरको प्रतिशोधात्मक शुल्क लगाएको थियो । त्यसपछि ट्रम्पले क्यानाडाली कम्पनीलाई अमेरिकी सरकारी ठेक्काबाट वञ्चित गर्न सकिने चेतावनी दिएका छन् ।
बोम्बार्डियरका विमानको बिक्री रोक्ने प्रयास गर्ने ट्रम्पको चेतावनीपछि क्यान्सासका रिपब्लिकन सिनेटर रोजर मार्सल र जेरी मोरानले अमेरिकी रोजगारी संरक्षणका विषयमा ह्वाइट हाउससँग चासो राखेका छन् ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापार विवाद थप बढाउने आफ्नो चाहना नरहेको बताएका छन् । अमेरिकी निर्भरता घटाउँदा तत्काल लागत बढ्न सक्ने भए पनि दीर्घकालमा त्यसबाट हुने लाभ अहिलेको कठिनाइभन्दा ठूलो हुने उनको भनाइ छ । कामदार, कम्पनी र समुदायको संरक्षणका लागि क्यानाडाले प्रतिशोधात्मक शुल्क लगाउनु परेको उनले बताए ।
अगस्ट २१ मा वासिङ्टनमा भएको वार्ता निष्कर्षविहीन भएपछि दुई देशबीचको व्यापार वार्ता पुनः सुरु हुन सकेको छैन । अमेरिकी बजारमा क्यानाडाको निर्भरता ठूलो छ । क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाट हुने गरेको छ भने करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा पुग्ने गरेको छ ।
अमेरिकी शुल्कबाट प्रभावित व्यवसायी र कामदारलाई राहत दिन क्यानाडा सरकारले सात अर्ब ५० करोड क्यानाडाली डलर बराबरको सहायता प्याकेजसमेत सार्वजनिक गरेको छ ।
एकातिर होर्मुज जलघाँटीमा सैन्य तनावले विश्वको तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ भने अर्कोतिर अमेरिका–क्यानाडा व्यापार विवादले उत्तर अमेरिकी अर्थतन्त्रमा दबाब थपेको छ । यी घटनाक्रमले भूराजनीतिक तनावसँगै ऊर्जा, व्यापार र विश्व अर्थतन्त्रमा थप अस्थिरता निम्तिन सक्ने चिन्ता बढाएको छ ।



















