
काठमाडौं । जेनजी आन्दोलनका सहिदको सम्झनामा आयोजित स्मृतिसभा सहिदको योगदान र आन्दोलनको उद्देश्य सम्झनेभन्दा पनि मञ्चमा देखिएका दुई पात्रका कारण विवादमा तानिएको छ ।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा मंगलबार आयोजित स्मृतिसभामा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा कानुनमन्त्री सोबिता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, पूर्वाधारमन्त्री सुनील लम्साल, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल, रास्वपा सांसद, जेनजी अगुवा तथा सहिद परिवारका सदस्यहरूको उपस्थिति थियो ।
तर, यही मञ्चमा धार्मिक कथावाचकका रूपमा चिनिने आपराधिक पृष्ठभूमिका धर्मगुरु विजय भण्डारी र विवादित विगतका श्रीनिवास आचार्यलाई दिइएको प्राथमिकताले कार्यक्रमको गरिमा र आयोजकको छनोटमाथि प्रश्न उठाएको छ । भण्डारी र आचार्य दुवैको विगत विवादरहित छैन । भण्डारीविरुद्ध ठगी तथा वैदेशिक रोजगारसम्बन्धी मुद्दा चलेका छन् भने आफैंमाथि गोली प्रहार गराउन लगाउने आचार्य उत्तेजक अभिव्यक्तिपछिको प्रहरी अनुसन्धानका कारण पटकपटक विवादमा आएका व्यक्ति हुन् ।
स्मृतिसभामा भने उनीहरूले अन्य अतिथिसरह मात्र नभएर प्रमुख अतिथिसँगै मञ्चमा स्थान पाएका थिए । आचार्यले त गृहमन्त्री गुरुङसँगै पानसमा बत्ती बाल्ने क्रममा समेत सहभागिता जनाए । कार्यक्रममा उनले सम्बोधनसमेत गरे ।
आयोजक जेनजी सहिद परिवार कल्याणकारी समाजका सचिव रोशन गौतमले यी दुवैलाई आफूहरूले नै निम्तो दिएको स्वीकार गरेका छन् । उनीहरूको विगतका बारेमा जानकारी नभएको उनको दाबी छ । गौतमका अनुसार कार्यक्रमलाई राजनीतिबाट टाढा राख्ने उद्देश्यले धार्मिक संस्था, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, सर्वोच्च अदालत र सुरक्षा निकायसम्म निमन्त्रणा पठाइएको थियो ।
तर, निमन्त्रणा गरिएका अन्य धार्मिक समुदायका गुरुहरू कार्यक्रममा देखिएनन् । विवादित पृष्ठभूमि भएका भण्डारी र आचार्य भने प्रमुख अतिथि, गृहमन्त्री सुधन गुरुङसँगै मञ्चमा देखिए । यसले आयोजकको निमन्त्रणा र अतिथि छनोटको मापदण्ड पूर्णरूपले विवादमा परेको छ ।
कार्यक्रममा आचार्यले स्वस्तिशान्तिसमेत गरेका थिए । अतिथिहरू आउन ढिला भएकाले स्वस्तिशान्ति गरिएको र त्यो पूर्वनिर्धारित कार्यक्रम नभएको आयोजकको स्पष्टीकरण छ । मञ्चमा पूर्वमन्त्री, सांसद र नेपाल प्रहरीका प्रमुखसमेत पछाडि तथा धार्मिक गुरुहरू अगाडि देखिएको विषयमा पनि आयोजकले पहिल्यै आएका व्यक्ति अगाडि बसेको जवाफ दिएको छ ।
विवादको केन्द्रमा रहेका विजय भण्डारी पशुपतिनाथमा २०८१ साउनमा एक महिनासम्म चलेको कोटिहोमका आयोजक थिए । त्यतिबेला कोटिहोममा उठेको रकमलाई लिएर विवाद भएको थियो । रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई प्रवेश नदिइएको र आक्रमणसमेत भएको भन्दै आलोचना भएको थियो ।
भण्डारीको विवाद त्यतिमै सीमित छैन । गुल्मीको धुर्कोट स्थायी घर भएका उनले काठमाडौंमा मानव कल्याण आध्यात्मिक परोपकार संघ, नेपाल नामक संस्था बनाएर धार्मिक कार्यक्रमको आवरणमा रकम उठाएको आरोपमा मुद्दा खेपेका थिए । २०६८ सालदेखि अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उनको निवासबाट रजिस्टर, चेक, चन्दा रसिदलगायत कागजात बरामद भएको थियो । काठमाडौं प्रहरीले उनलाई एक करोड २७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो । अदालतमा उनले रकम लिएको स्वीकार गर्दै आफूले लिएको रकम दान भएको दाबी गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले २०७३ मंसिर ६ मा उनलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिबानाको फैसला गरेको थियो । उनी कैद भुक्तान गरेर रिहा भएका थिए । वैदेशिक रोजगारसम्बन्धी अर्को मुद्दामा पनि वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई १ वर्ष ६ महिना कैद र जरिबानाको फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध उनी सर्वोच्च अदालत पुगेका छन् ।
भण्डारीमाथि प्रहरीको चरित्र प्रमाणपत्रसम्बन्धी विषयमा समेत प्रश्न उठेको छ । दुई वर्ष ६ महिना कैद सजाय भोगिसकेका उनले २०८१ जेठमा प्रहरीबाट चारित्रिक प्रमाणपत्र लिएको भेटिएपछि त्यसका बारेमा अनुसन्धान भएको थियो । प्रहरीको अपराध तथ्यांक प्रणालीमा उनको विगत देखिनुपर्ने अवस्थामा कसरी क्लियर रिपोर्ट आयो भन्ने विषयमा अनुसन्धान भए पनि त्यसको टुंगो लागेको छैन ।
अर्का अतिथि आचार्य श्रीनिवास पनि पटकपटक विवादमा आएका पात्र हुन् । प्रहरी अनुसन्धानअनुसार उनले २०७५ सालमा विराटनगरको जतुवामा आफूलाई नै गोली प्रहार गराउन लगाएका थिए । हिन्दु राष्ट्रको अभियानलाई उचाइ दिन तथा धार्मिक सहिष्णुतामा खलल पार्ने उद्देश्यले आफूलाई गोली हान्न लगाएको अनुसन्धान निष्कर्ष थियो । श्रीनिवासले भने प्रहरीको अनुसन्धानलाई अस्वीकार गर्दै आएका छन् । घटनापछि उनी पक्राउ परेका थिए । उनीविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा चलेको थियो ।
त्यसपछि पनि उनको विवादित गतिविधि रोकिएन । गौहत्या गर्नेलाई हत्या गर्ने भन्दै दिएको अभिव्यक्तिका कारण २०८० असोजमा उनी सुनसरीमा पक्राउ परेका थिए । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीमाथि मुद्दा चलेको थियो ।
त्यसको केही समयपछि २०८० मंसिरमा काठमाडौंको गौशालामा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा पनि उनी पक्राउ परे । गेरुवस्त्रमा त्रिशूलसहित समर्थक लिएर पुगेका उनले उत्तेजक अभिव्यक्ति दिएको र भिडलाई उक्साउने गतिविधि गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यिनै पृष्ठभूमिका दुई व्यक्तिलाई जेनजी सहिद स्मृतिसभामा सम्मानजनक स्थान दिइएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म सबैतिरबाट विरोध भएको छ । आन्दोलनले सुशासन, जवाफदेहिता र बेथितिको अन्त्य मागेको अवस्थामा विवादित पृष्ठभूमिका व्यक्तिलाई राज्यका उच्च पदाधिकारीसँगै मञ्चमा राख्नु आफैंमा विरोधाभास भएको टिप्पणी भइरहेको छ ।
कार्यक्रममा गृहमन्त्री गुरुङले भने पुराना राजनीतिक दललाई लक्षित गर्दै सुशासन र सुधारको सन्देश दिएका थिए । विभिन्न सञ्चारमाध्यमका अनुसार पुराना दललाई चेतावनी दिँदै गुरुङले जेनजी विद्रोहको इतिहास नफेर्न र सुध्रिन आग्रह गरेका थिए । उनले आफूहरू सत्ताका लागि नभई सुशासनका पक्षमा उभिएको दाबी गर्दै आन्दोलनको माग पूरा नभए अर्को गोली चल्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका थिए ।
तर, सुशासनको सन्देश दिने गृहमन्त्रीकै छेउमा विवादित विगत भएका दुई ‘अभियुक्त’को उपस्थिति र उनीहरूलाई दिइएको प्राथमिकताले भाषण र व्यवहारबीचको दूरी देखाएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अझ जेनजी आन्दोलनको स्वामित्व दाबी गर्ने दलकै नेता तथा सांसदहरूले समेत यस विषयमा प्रश्न उठाएपछि आयोजकको निर्णय थप विवादित बनेको छ ।
स्मृतिसभामा विवादित पात्रको उपस्थितिसँगै अर्को प्रश्न पनि उठेको छ—जेनजी आन्दोलनले खोजेको सुशासन आखिर कस्तो हो ? आन्दोलनका क्रममा भ्रष्टाचार, बेथिति र जवाफदेहिताविहीनताविरुद्ध उठेको आवाज सम्झने कार्यक्रममा नै विवादित एवं आपराधिक पृष्ठभूमिका व्यक्तिलाई अगाडि राखेर सुशासनको पाठ पढाइनु कति संगतिपूर्ण हो भन्ने प्रश्नको जवाफ भने आयोजक र सत्तापक्षले दिनुपर्ने देखिएको छ ।
आपराधिक पृष्ठभूमिका धर्मलाई मञ्चामा राखेर गृहमन्त्रीले सुशासनको भाषण दिनुलाई जेनजीको बलिदानमाथि सत्ताले गरेको मजाकका रूपमा लिनुपर्ने राजनीतिशास्त्रीहरुले बताए । उनीहरु भन्छन्, ‘मञ्चमा विवादित पात्र र आपराधिक पृष्ठभूमिका व्यक्तिहरुलाई राखेर पुराना दलका नेताहरुलाई सुध्रिन चेतावनी दिइन्छ । गृहमन्त्रीको यहाँभन्दा भद्धा मजाक अरु हुनै सक्दैन ।’

























