
विराटनगर । दसैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा असोज २२ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर’ आयोजना हुने भएको छ ।
विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवनमा हुने मेलामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका करिब १ सय वटा स्टल रहने संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए । उनका अनुसार मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, फर्निचर, कृषि उत्पादनलगायत वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री गरिने छ ।
चाडपर्वको किनमेलका लागि सीमापारि जानुपर्ने बाध्यता कम गरी स्वदेशी बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष जिन्दलले बताए ।
मेलामा सांस्कृतिक कार्यक्रम, फुड कोर्ट, किड्स जोन तथा सेल्फी जोनलगायत आकर्षण रहने छन् । मेला अवधिभर करिब एक लाख दर्शक आउने आयोजकको अपेक्षा छ ।
संघले यसअघि २०६७ सालमा आयोजना गरेको ‘विराट महोत्सव’ मा ७८ वटा स्टल राखिएको थियो भने करिब ५५ हजार दर्शकले अवलोकन गरेका थिए ।



















