प्रलोभनमा बैंक खाता खोल्न लगाउने तीन महिला पक्राउ

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार २१:३८
युवकको शंकास्पद मृत्यु: श्रीमती, आमासहित ५ जना पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाई त्यसको कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

Advertisement

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार प्रारम्भिक अनुसन्धानमा आर्थिक रूपमा कमजोर व्यक्तिलाई केही हजार रुपैयाँ दिने प्रलोभन देखाएर उनीहरूको नाममा बैंक खाता खोल्न लगाउने र विभिन्न सेवा प्रदायक कम्पनीका सिमकार्ड लिन लगाउने गरेको खुलेको छ ।

त्यसपछि मोबाइल बैंकिङलगायतका माध्यमबाट हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको हुनसक्ने प्रहरीको आशंका छ। खाता खोलिदिएबापत ८ हजारदेखि १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको पाठकले बताए ।

खातावालाले आफ्नो खातामार्फत भइरहेको कारोबारबारे जानकारी नपाउने र कारोबारको नियन्त्रण अन्य व्यक्तिले लिने गरेको हुनसक्ने प्रहरीको भनाइ छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने भएकाले खोजी तथा निगरानी तीव्र पारिएको पाठकले बताए ।

आफ्नो नामको बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा गैरकानुनी कारोबार भए खातावाला समेत अनुसन्धानको दायरामा पर्न सक्ने भएकाले प्रलोभनमा परी बैंक खाता, एटीएम तथा मोबाइल बैंकिङको विवरण अरूलाई उपलब्ध नगराउन प्रहरीले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×