
काठमाडौं । नेपाली साहित्यका युवाकवि एवं राष्ट्रिय विभूति मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज (शुक्रबार) विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ ।
भानुभक्त आचार्यलाई नेपाली साहित्यमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका भट्टको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना गर्न लागिएको हो । १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका मोतीराम भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । छोटो जीवन बाँचे पनि उनले नेपाली साहित्यको विकास र विस्तारमा उल्लेखनीय योगदान दिएका थिए ।
भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । नेपालमा छापाखाना भित्र्याउन पनि उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । छापाखानाको प्रयोगसँगै नेपाली पत्रकारिताको विकासले समेत गति लिएको साहित्यिक क्षेत्रका जानकारहरू बताउँछन् ।
जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन् । नेपाली शिक्षा परिषद्ले शुक्रबार दिउँसो २ बजे कवि सम्मेलन तथा युवा वर्ष मोती पुरस्कार वितरण कार्यक्रम गर्ने जनाएको छ । परिषद्का अध्यक्ष रमा शर्माका अनुसार कार्यक्रममा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता रहनेछ ।

























