
काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएसँगै उपभोक्ता कालोबजारीको मारमा परेका छन्। असारको अन्तिम सातादेखि नै ग्यास पाउन मुस्किल भइरहेको अवस्थामा पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोले आपूर्ति व्यवस्था थप प्रभावित बनेको छ।
अभावको फाइदा उठाउँदै केही व्यवसायीले उपभोक्तासँग चर्को मूल्य असुलिरहेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको मूलपानीस्थित बाबा चोकमा रहेको अनिल खाद्य किराना पसललाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। उक्त पसलले सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरेको प्रमाण भेटिएपछि विभागले कारबाही गरेको हो।
विभागका निर्देशक अनिल किराँतीका अनुसार गोप्य उजुरीका आधारमा अनुगमन गर्दा उक्त पसलले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको पुष्टि भएको थियो। विभागले मंगलबारदेखि ग्यास उद्योग र बिक्रेताको अनुगमन तीव्र पारेको छ। बिहीबार मात्रै १० वटा ग्यास उद्योग तथा डिपोमा अनुगमन गरिएको थियो। अधिकांश ठाउँमा ग्यासको अभाव देखिएको र उपभोक्ता लामो समय लाइनमा बस्न बाध्य भएको पाइएको विभागले जनाएको छ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यकाका १९ वटा ग्यास प्लान्टमा बुलेट आउन सकेका छैनन्। व्यवसायीले हेटौँडा, वीरगन्ज, नवलपरासी र धनुषालगायत वैकल्पिक मार्ग प्रयोग गरी ग्यास आपूर्ति गरिरहेका छन्। ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा थप गरी बिक्री गर्न माग गरेको छ।
यद्यपि, उपभोक्ता २ हजार ६ सयदेखि ३ हजार रुपैयाँसम्म तिर्न तयार हुँदा पनि सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ। अहिले भने दैनिक औसत ३० हजार सिलिन्डर मात्रै आपूर्ति भइरहेको छ।



















