
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई ठगी तथा संगठित अपराध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय भएको छ ।
जिल्ला अदालत काठमाडौंले बिहीबार तामाङलाई कैदसँगै ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको हो । तामाङसहितका प्रतिवादीबाट ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो कायम गरिएको छ । उक्त बिगो दामासाहीका आधारमा प्रतिवादीहरूबाट असुल गर्न अदालतले आदेश दिएको छ ।
यसअघि न्यायाधीश कृतबहादुर बोहराको इजलासले भदौ ११ गते तामाङसहितका प्रतिवादीलाई ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको थियो । त्यसै फैसलाको आधारमा बिहीबार सजाय निर्धारण गरिएको हो ।
अदालतले यही मुद्दामा दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी र प्रविणप्रसाद प्रधानलाई ५ महिना कैद तथा ५ हजार रुपैयाँ जरिबाना तोकेको छ । केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई एक वर्ष कैद तथा १० हजार रुपैयाँ जरिबाना तोकिएको छ भने मुकुन्दप्रसाद नेउपानेलाई ५ महिना कैद र ५ हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएको छ ।
त्यस्तै, दानहिरा तुलाधरलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तथा नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना भएको छ ।
इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ)लाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ । लालकाजी गुरुङलाई पनि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला भएको छ ।

























