घरमै बन्चरो र दाउ प्रहार गरी हत्या, शव भीरपाखामा फालेको खुलासा

Share this
638shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १२:५३

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले आमा र छोरालाई पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका–३ का इन्द्रकुमार दमाईको हत्या आरोपमा ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आमा–छोरा मिलेर दमाईको हत्या गरेको खुलेको छ । पक्राउ परेका दुवै जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको डीएसपी कर्णले बताए ।

Advertisement

दमाई भदौ २० गते मिक्लाजुङ–३ स्थित छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा सलको पासो लगाइएको अवस्थामा शव भेटिएको थियो । निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेजस्तो चोटसमेत देखिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलको प्रारम्भिक अवस्थाले आत्महत्या नभई हत्या भएको आशंका बढाएपछि प्रहरीले सूक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका आमा–छोराले प्रहरीसमक्ष दमाईलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार हत्या गरेपछि उनीहरूले शवलाई घरनजिकै रहेको आल्चाको रुखमा झुन्ड्याएका थिए । त्यसपछि उक्त शवलाई त्यहाँबाट करिब पाँच सय मिटर तल रहेको भीरपाखामा लगेर फालेको प्रारम्भिक बयानबाट खुलेको छ ।

घटनामा प्रयोग भएको बन्चरोसहित अन्य केही हतियारसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका आमा–छोरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×