
काठमाडौं । विपद्को समयमा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिन खोज्नेमाथि कारबाही गर्न माग गरेको हो ।
लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेका बेला भोटेकोशीमा आएको भीषण बाढीले समस्या थप जटिल बनाएको महासंघले जनाएको छ । बाढीका कारण कृष्णभीरको सडक कटान भई राजधानी जोड्ने राजमार्ग अवरुद्ध हुँदा उपत्यकाको ग्यास आपूर्ति प्रणालीमा समस्या भएको विज्ञप्तिमा उल्लेख छ ।
कठिन परिस्थितिको फाइदा उठाउँदै उपभोक्तासँग अनुचित मूल्य लिएर ग्यासलगायत अत्यावश्यक वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएको महासंघले जनाएको छ । महासंघले देशभरका ग्यास विक्रेतालाई प्राप्त ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न अपिल गरेको छ ।
विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु सहज रूपमा उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेताको मुख्य दायित्व रहेको महासंघले जनाएको छ । साथै आपूर्ति प्रणाली नियमित बनाउन हरसम्भव प्रयास गर्नु सबैको साझा दायित्व भएको महासंघले उल्लेख गरेको छ ।



















