चोरीको मोबाइल र नगदसहित विराटनगरबाट दम्पती पक्राउ

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १९:३०

विराटनगर । चोरी गरी भारततर्फ लैजाँदै गरेको पाँच थान मोबाइल र नगद रकमसहित प्रहरीले विराटनगरबाट शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २२ वर्षीय कृष्ण साह र उनकी पत्नी २३ वर्षीया बबिता बुढाथोकी रहेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बिहान करिब ८ बजेतिर विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट दम्पतीलाई पक्राउ गरिएको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रानी सीमाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको साथबाट चोरी गरी लैजाँदै गरेको विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद मोबाइलमा रेडमी–७, रेडमी ए–५, सामसुङ, होनर र एप्पल कम्पनीका एक–एक थान रहेका छन् । त्यस्तै, उनीहरूको साथबाट नेपाली नगद ७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय नगद १ हजार ८ सय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

मोबाइल र नगदसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए । उनीहरु मोबाइल कहाँबाट चोरी गरेर ल्याएका हुन् भन्ने यकिन हुन बाँकी रहेको मिश्रको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×