भोटेकोशी बाढीः १७औँ दिन पनि खोज-उद्धार जारी

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १९:५१

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आज (शुक्रबार) को नियमित पत्रकार सम्मेलनमा सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर खोज, उद्धार तथा राहतको काम गरिरहेको जानकारी दिए ।

उनका अनुसार भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार टोलीसहित यूएई, मलेसिया र अस्ट्रेलियाका टोलीले पनि नेपाली सुरक्षाकर्मीसँगको समन्वयमा उद्धारमा सहयोग गरिरहेका छन् । पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६७६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३२० भन्दा बढी विदेशी नागरिक छन् । तर करिब ३५ देशका ६०० विदेशी नागरिकसहित ५ हजार १३० जना अझै बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। हालसम्म १ हजार ३८५ शव फेला परेका छन् ।

Advertisement

शव पहिचानका लागि डीएनए नमुना संकलन तथा परीक्षणलाई तीव्र पारिएको छ । भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका न्यायिक चिकित्साविज्ञ तथा फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको समन्वयमा काम गरिरहेका छन् । बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनःस्थापनाको काम पनि अघि बढाइएको छ । गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत देवीघाटस्थित तादी नदीमा एक्रो पुल जडान गरी सञ्चालनमा ल्याइएको छ। प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा ५७ वटा पुलमा क्षति पुगेको छ । पुनःस्थापनाका लागि भारत र चीनसँग बेली पुललगायत संरचना उपलब्ध गराउन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

विपद्पछिको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनअनुसार बाढीबाट करिब १.८ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ । पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । मन्त्रालयले यो प्रारम्भिक मूल्याङ्कन भएकाले पूर्ण क्षतिको यकिन गर्न विस्तृत विपद्पछिको आवश्यकता मूल्याङ्कन गरिने जनाएको छ ।

यसैबीच, चिनियाँ अधिकारीको सहजीकरणमा तातोपानी नाका हुँदै ७६८ नेपाली नागरिक स्वदेश फर्किएका छन् । सरकारले बाढीपछिको विपद्लाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषय थप प्रभावकारी रूपमा उठाउने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×