भोजपुरको अकबरेले बाहिरी बजारमा पाउँदै राम्रो मूल्य

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ११:२२

भोजपुर । भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ। गाउँगाउँसम्म सडक पहुँच विस्तार भएसँगै यहाँका किसानले उत्पादन गरेको खुर्सानी काठमाडौं, धरान, विराटनगर र झापालगायतका बजारमा पठाउन थालेका छन्।

अकबरे खुर्सानीको व्यावसायिक खेती भोजपुरका किसानको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ। परम्परागत खाद्यान्न बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। अहिले किसानले स्थानीयस्तरमै प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्ममा खुर्सानी बिक्री गर्दै आएका छन्।

Advertisement

पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङका किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्ज्याङ सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० किलोसम्म अकबरे खुर्सानी बाहिरी जिल्लाका बजारमा पठाउने गरिएको छ। सडक सुविधा सहज भएपछि व्यापारीहरू किसानका खेतबारी र स्थानीय सङ्कलन केन्द्रमै पुगेर खुर्सानी खरिद गर्ने गरेका छन्।

तिवारीले पाँच वर्षदेखि खुर्सानी खेतीसँगै अन्य किसानले उत्पादन गरेको खुर्सानी सङ्कलन गरेर बाहिरी बजारमा पठाउँदै आएका छन्। ‘स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु,’ उनले भने, ‘तिवारीभञ्ज्याङबाट मात्रै दैनिक ४०० किलोसम्म खुर्सानी सहरका बजारमा जाने गरेको छ।’

भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाका अनुसार अहिले उत्पादित खुर्सानी बिक्री तथा बजारीकरणमा समस्या छैन। भोजपुरको पहाडी हावापानीमा उत्पादन हुने अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाहिरी जिल्लामा यसको माग राम्रो रहेको उनले बताइन्।

कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार यस वर्ष जिल्लामा करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको छ। चालु वर्षको खुर्सानी बिक्री भइरहेकाले कुल उत्पादनको अन्तिम तथ्याङ्क भने आउन बाँकी रहेको उनले बताए।

गत आर्थिक वर्षमा भोजपुरमा पाँच हजार २३२ मेट्रिक टन अकबरे खुर्सानी उत्पादन भएको थियो। त्यसबाट जिल्लामा करिब २३ करोड रुपैयाँ भित्रिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। ‘अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,’ प्रमुख यादवले भने, ‘धेरै किसान व्यावसायिक खुर्सानी खेतीमा आबद्ध छन्। यहाँ उत्पादित खुर्सानी ठूलो परिमाणमा बाहिरी जिल्लाका बजारमा जाने गरेको छ।’

खुर्सानी खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहहरूले किसानलाई अनुदान तथा अन्य सहयोगसमेत गर्दै आएका छन्। बजारमा माग बढ्दै गएपछि जिल्लामा अकबरे खुर्सानीको व्यावसायिक उत्पादन पनि विस्तार हुँदै गएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×