कृष्णभीरमा सडक खुलाउन तीव्र काम हुँदै 

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १६:३६
कृष्णभीरमा सडक खुलाउन तीव्र काम हुँदै 

चितवन । त्रिशूली नदीको बाढीले सडकको जग भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीर खण्ड खुलाउनका लागि तीव्र गतिमा काम भइरहेको छ ।

भित्तातर्फबाट नयाँ ट्रयाक खन्ने काम लगभग सकिएसँगै अबको दुईदेखि तीन दिनभित्र सडकमा यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिमखण्ड) ले जनाएको छ ।

Advertisement

हाल नयाँ ट्रयाकलाई  ‘ग्रेड डाउन’ गरी सबग्रेड तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ । सडक खुलाउन आवश्यक जनशक्ति र उपकरण परिचालन गरी रातदिन काम भइरहेको योजनाले जनाएको छ ।

शनिबारसम्म कटिङको काम लगभग सम्पन्न भएपछि अहिले ग्रेड सुधारका लागि दुई वटा बुलडोजर र दुई वटा एक्साभेटर परिचालन गरिएको छ । ग्रेड मिलाउने काम सकिए लगत्तै रोलर थप गरी सडकको रोलिङ सुरु गरिने छ ।

रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडकको जग नै भासिएपछि कृष्णभीर खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो । राजधानीलाई देशका विभिन्न भूभागसँग जोड्ने प्रमुख  ‘लाइफलाइन’ सडक अवरुद्ध भएपछि वैकल्पिक ट्रयाक निर्माणलाई उच्च प्राथमिकता दिँदै सडक खुलाउने काम अघि बढाइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×