
विराटनगर । मोरङ प्रहरीले जहदाबाट बरामद गरेको ९ सय २२ दशमलव ३ किलो गाँजा आज (शनिबार) नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमै खाल्डो खनेर गाँजा नष्ट गरिएको हो ।
कानुनी प्रक्रिया पूरा गरेर गाँजा नष्ट गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार मोरङको जहदा गाउँपालिका–७ बाट गत जेठ २५ गते राति गाँजा बरामद गरिएको थियो ।
लक्ष्मीनियाबाट तारिगामातर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको पिकअपलाई बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कर्टिङ गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले पिछा गरेको थियो । प्रहरीले पिछा गर्न थालेपछि पिकअप र मोटरसाइकल चालक दुवै सवारीसाधन छाडेर फरार भएका थिए ।
त्यसपछि पिकअप खानतलासी गर्दा धानको भुसको बोराले छोपेर राखिएको अवस्थामा २९ पोका गाँजा बरामद भएको थियो । तौल गर्दा उक्त गाँजा ९२२ दशमलव ३ किलो रहेको खुलेको थियो ।
बरामद गाँजालाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा खाल्डो खनेर नष्ट गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालले लागुऔषध नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले गाँजा नियन्त्रणमा लिने क्रममा संलग्न व्यक्तिको पहिचान भइसकेको र फरार रहेका व्यक्तिलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिने बताए । ‘गाँजा नियन्त्रणमा लिइए पनि ओसारपसारमा संलग्न फरार थिए । गाँजा लोड गरिएको पिकअप छाडेर फरार रहेका व्यक्तिको खोजी भइरहेको छ । पहिचान भइसकेकाले नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याउँछौं,’ एसपी कटवालले भने ।



















