पत्रकार तेजन खड्का धरौटीमा रिहा

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १८:२२

विराटनगर । सामाजिक सञ्जालमा लेखेको स्ट्याटसका कारण विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ परेका मोरङ उर्लाबारीका पत्रकार तेजन खड्का धरौटीमा रिहा भएका छन् ।

मोरङ जिल्ला अदालतले खड्कालाई ७५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले नगद धरौटी, सोही बराबरको जेथा वा बैंक जमानत दाखिला गर्न आदेश दिएको छ ।

Advertisement

उर्लाबारी नगरपालिका–७ की वडाध्यक्ष उर्मिला थापाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो व्यक्तिगत फोटो प्रयोग गरी चरित्र हत्या गर्ने उद्देश्यले सामग्री पोस्ट गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि खड्का पक्राउ परेका थिए । प्रहरीले खड्कालाई उर्लाबारी–९ स्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाएको थियो ।

खड्काविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (९) बमोजिमको कसुरमा अभियोगपत्र दायर गरिएको थियो । खड्काको पक्राउको विषयमा नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध संस्थाले आपत्ति जनाउँदै उनको रिहाइको माग गरेका थिए ।

खड्काको पक्राउको कारण बनेको स्ट्याटस उर्लाबारी–७ स्थित खोलाको बगरमा खेलमैदान बनाउने विषयसँग जोडिएको थियो । स्थानीय युवाले झाडी सफा गरेर खेलमैदान निर्माणको तयारी थालेपछि वडा कार्यालयले सो स्थानमा पार्क बनाउने योजना अघि सारेको थियो । यसपछि खेलमैदान निर्माण गर्ने पक्ष र वडा कार्यालयबीच विवाद देखिएको थियो ।

यही विषयमा खड्काले सामाजिक सञ्जालमा व्यंग्यात्मक शैलीमा ‘मैदान र पार्क छोडौँ, रेड लाइट एरिया बनाऊँ, आम्दानी हुन्छ’ भन्ने आशयको स्ट्याटस लेखेका थिए । उक्त अभिव्यक्तिलाई लिएर वडाध्यक्ष थापाले आपत्ति जनाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

स्थानीय समस्या तथा जनसरोकारका विषयमा सामाजिक सञ्जालमार्फत धारणा राख्दै आएका खड्काको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जालमा व्यक्त गरिने सामग्रीको कानुनी सीमा र पत्रकारको अभिव्यक्तिको मर्यादाका विषयमा पनि बहस भएको थियो ।

अदालतले तोकेको धरौटी बुझाएपछि खड्का मुद्दाको पुर्पक्षका लागि तारेखमा रहेका छन् । मुद्दाको अन्तिम फैसला भने पछि हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×