
काठमाडौं । भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार जलविद्युत् क्षेत्रमा मात्रै १५१ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।
बाढीबाट क्षतिग्रस्त ऊर्जा पूर्वाधारको पुनःनिर्माण तथा पुनःप्राप्तिका लागि भने करिब ३९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । प्राधिकरणका अनुसार क्षति र पुनःप्राप्तिको आवश्यकताका आधारमा पूर्वाधार क्षेत्रमध्ये जलविद्युत् तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।
बाढीले १३ वटा साना तथा ठूला जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको छ । आयोजनाका बाँध, विद्युत्गृह र सुरुङमा लेदो तथा ढुंगा थुप्रिँदा संरचनामा ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
बाढीपछि आयोजनास्थलमा फसेका तथा बेपत्ता भएका कामदारको खोजी तथा उद्धार कार्य जारी छ । माथिल्लो त्रिशूली–१, रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ र रसुवा भोटेकोशीलगायत आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विदेशी उद्धार टोली परिचालित छन् । त्रिशूली–३ ‘बी’मा एक्स्काभेटर प्रयोग गरेर उत्खनन गर्दा केही बिम, पिलर र इँटा फेला परेका छन् ।
यसैबीच, बाढीबाट प्रभावित विद्युत् आपूर्ति पुनःसुचारु गर्ने काम पनि तीव्र पारिएको छ । रसुवाका करिब ८० प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति पुनःस्थापित भइसकेको छ । तत्काल विद्युत् पुग्न नसक्ने प्रभावित क्षेत्रमा सोलार प्यानलमार्फत वैकल्पिक ऊर्जा उपलब्ध गराइएको छ ।
धादिङ र नुवाकोटका क्षतिग्रस्त क्षेत्रमा पनि विद्युत् पूर्वाधार मर्मत तथा पोलिङको काम भइरहेको छ । देवीघाट स्टेसन पुनःस्थापनाका लागि प्राविधिक अध्ययन टोली गठन गरिएको प्राधिकरणले जनाएको छ ।

























