नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी गरेको आरोपमा ओखलढुंगाका युवक पक्राउ

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार १६:४९
नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी गरेको आरोपमा ओखलढुंगाका युवक पक्राउ

काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्क बस्दै आएका २८ वर्षीय अनिष थापा मगर छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थापा मगरलाई भदौ २५ गते साँझ टोखा नगरपालिका–९, मिलन टोलस्थित एक गेस्ट हाउसबाट पक्राउ गरिएको हो । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ८५६ ग्राम बरामद गरेको छ ।

Advertisement

उक्त धातुलाई सुन भन्दै देखाएर उनले विभिन्न व्यक्तिबाट पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार थापा मगर जबरजस्ती करणीसम्बन्धी कसुरमा कैदीसमेत रहेका थिए । उनी गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएकोसमेत अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×