
झापा । हुलाकी राजमार्गअन्तर्गत झापाको कनकाई नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीबाट सरकारले करिब दुई अर्ब रुपैयाँ असुल गर्ने भएको छ ।
झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो पुल निर्माणको जिम्मा पाएको पप्पु–महादेव–खिम्ती जेभीलाई एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ जरिवाना तोकिएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय इटहरी आयोजनाले सार्वजनिक खरिद ऐनअनुसार उक्त रकम दाखिला गर्न कम्पनीलाई ३५ दिने सूचना जारी गरेको छ । तोकिएको समयभित्र रकम नबुझाए कम्पनीको चल–अचल सम्पत्तिबाट सरकारी बाँकीसरह असुल गरिने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार निर्माण कम्पनीले पाँच पटक म्याद थप्दासमेत पुलको भौतिक प्रगति ५६ प्रतिशत मात्रै पुर्याएको थियो । २०६८ जेठ ३१ गते ३४ करोड नौ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पुल २०७२ जेठ ३० सम्म सम्पन्न गर्ने लक्ष्य थियो । काममा ढिलाइ भएपछि गत वर्ष मंसिरमा ठेक्का सम्झौता रद्द गरिएको थियो ।
यसअघि कम्पनीको एक करोड ७१ लाख रुपैयाँको बैंक जमानतसमेत जफत गरी राजस्व खातामा जम्मा गरिसकिएको छ । कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा समेत राखिएको छ ।



















