फाइल फाेटाेविराटनगर । मोरङको बूढीगंगामा सोमबार साँझ दुर्घटनामा परेर सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा साँझ ५ः३० बजेतिर दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा दुर्घटना भएको हो । वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको उनले बताए ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवल्दार बूढीगंगा–४ घर भएका ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए । उनका अनुसार दुर्घटनामा परी टाउको, छाती, दुवै हात र खुट्टा एवं शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा चिकित्सकले साँझ ६ः५२ बजेतिर खड्कालाई मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) स्वर्णकट्टी सप्तरीमा कार्यरत रहेको पत्ता लागेको छ ।
दुवै सवारीसाधन तथा बसका चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । बसको तीव्र गति र मोटरसाइकलले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

























