
विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन् । पानीको बहाव बढेर खतराको तहनजिक पुगेपछि ब्यारेजका ढोकाहरु खोलिएको हो ।
ब्यारेज नियन्त्रण कक्षका अनुसार मंगलबार बिहान ७ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७ सय ७५ क्युसेक पुगेको छ । ब्यारेजमा जलसतह खतराको बिन्दुनजिक पुगेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको नियन्त्रण कक्षले जनाएको छ । बहाव निरन्तर बढेपछि थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।
सप्तकोशीमा पानीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन र आवश्यकताअनुसार सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।
वर्षाका कारण सप्तकोशीमा पछिल्लो समय पानीको बहाव बढिरहेको छ । बहाव थप बढेमा कोशी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले निगरानी बढाएका छन् ।

























