
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा बाल दिवसको अवसर पारेर परम्परागत रोपाइँ जात्रा सम्पन्न भएको छ । रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले बाजागाजासहित रोपाइँको सांकेतिक प्रस्तुति दिँदै पुरानो संस्कृतिलाई जीवन्त बनाएका हुन् ।
बाजागाजासहित बराजु खेल मैदानमा प्रवेश गरेका विद्यार्थीले रोपाहार, बाउसे र हलीका रूपमा सांकेतिक रोपाइँ प्रस्तुत गरेका थिए । विद्यार्थीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय मौलिक परम्परा र संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याएको थियो ।
विभिन्न जातजातिका परम्परागत पोसाकमा सजिएका विद्यार्थीले आकर्षक प्रस्तुति दिएका थिए । रोपाइँ सम्पन्न गर्ने क्रममा उनीहरूले खेतमै राष्ट्रिय झन्डासमेत बनाएका थिए ।
रानीटारमा २०३७ सालदेखि सुरु भएको रोपाइँ जात्राको परम्परालाई निरन्तरता दिइएको हो । भौगोलिक रूपमा समेत सुन्दर रानीटारमा परम्परागत पोसाक र संस्कृतिसहित प्रस्तुत गरिने यो जात्रा स्थानीय पहिचानका रूपमा स्थापित हुँदै गएको छ ।
बाल दिवसका अवसरमा विगतमा भदौ ४ गते मेला लाग्ने गरेको थियो । पाँचथरमा ‘हिले जात्रा’का रूपमा समेत चर्चित यो परम्परा द्वन्द्व कालमा रोकिएको थियो । शान्ति सम्झौतापछि भदौ २९ गते बाल दिवसको अवसरमा पुनः जात्रा आयोजना गर्न थालिएको हो । गत वर्ष भने जेनजी आन्दोलनका कारण जात्रा स्थगित भएको थियो ।
रोपाइँ जात्राका लागि विद्यार्थीलाई चार दिन प्रशिक्षण दिएर तयार गरिएको रानीटार माध्यमिक विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीलाई रोपाइँका विभिन्न भूमिकाका साथै परम्परागत चालचलन र प्रस्तुतीकरणबारे अभ्यास गराइएको थियो ।
रोपाइँ जात्राको अवसरमा खुला तथा भेट्रान फुटबल प्रतियोगिता, ज्येष्ठ नागरिक दौड, नृत्यलगायत विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।



















