
काठमाडौ । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.५७ अंक (१.८७ प्रतिशत) ले वृद्धि भई २६३३ अंकमा पुगेको छ। यो अंक गत भदौ १ यताकै उच्च हो । अघिल्लो दिन अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको बहुप्रतीक्षित कार्ययोजना सार्वजनिक गरेका थिए। जसका कारण बुधबार कारोबार सुरु भएदेखि नै लगानीकर्तामा उत्साह देखिएको थियो ।
कारोबार सुरु भएको पहिलो मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि केही सम्हालिँदै दिउँसो १२:५४ बजे २६११ अंकसम्म आएको थियो। तर, दिउँसो १ बजेपछि अन्तिम समयसम्म बजारले पुनः वृद्धिको लय समातेको थियो । बजार परिसूचकसँगै कारोबार रकममा पनि ठूलो उछाल आएको छ। बुधबार ८ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको ४ अर्ब ६८ करोडको तुलनामा उल्लेख्य वृद्धि हो। आजको यो कारोबार रकम विगत दुई महिना (गत असार ३० यता) कै उच्च हो ।
आज बजारका सबै समूहगत सूचकहरू बढेका छन्। जसमा निर्जीवन बीमा २.८२, लगानी २.५२, जीवन बीमा २.५९, फाइनान्स २.२३, अन्य २.१२, बैंकिङ १.९०, जलविद्युत् १.८४, विकास बैंक १.७६, माइक्रोफाइनान्स १.७५, होटल तथा पर्यटन १.४२, व्यापार ०.९२ र उत्पादन तथा प्रशोधन समूह ०.७७ प्रतिशतले बढेका छन् । आज कुल २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर छ ।
मूल्य धेरै बढ्ने कम्पनीहरूमा धौलागिरि लघुवित्त (१४.९६%), सिन्धु विकास बैंक (११.०३%), मल्टिपर्पस फाइनान्स (९.७३%), जानाकी फाइनान्स (८.०६%) र मिडसोलु हाइड्रोपावर (६.६७%) रहेका छन् । अर्कातर्फ बोटलर्स नेपाल बालाजु (२.९७%), रिलायन्स स्पिनिङ मिल्स (१.९४%) र सर्वोत्तम पेन्टस (१.६६%) को सेयर मूल्यमा गिरावट आएको छ। आज रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक धेरै कारोबार हुने कम्पनीहरूको अग्रस्थानमा रहेका छन् ।



















