बिमाको पहुँच ५२ प्रतिशत जनसंख्यामा 

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार ०९:३०

विराटनगर । नेपालमा बिमाको पहुँच ५२ प्रतिशतभन्दा बढी जनसंख्यामा पुगेको राष्ट्रिय बिमा प्राधिकरण कोशी प्रदेश कार्यालयले जनाएको छ।

विराटनगरमा आयोजित अन्तर्क्रियामा प्राधिकरणका सहायक निर्देशक सचिन राईले आर्थिक वर्ष २०८२/ ८३ मा कुल जनसंख्याको ५२ दशमलव ०४ प्रतिशत बिमाको दायरामा आएको जानकारी दिए । आर्थिक वर्ष २०८१÷ ८२ मा बिमाको पहुँच ४८ दशमलव ३३ प्रतिशत रहेको थियो।

Advertisement

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जीवन तथा निर्जीवन बिमाबाट २ खर्ब ५६ अर्ब ५२ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा २ खर्ब २७ अर्ब १९ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको थियो।

कुल बिमा शुल्कमध्ये जीवन बिमातर्फ २ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ र निर्जीवन बिमातर्फ ५९ अर्ब ९२ करोड रुपैयाँ संकलन भएको प्राधिकरणले जनाएको छ।

कोशी प्रदेशमा पनि बिमाको पहुँच विस्तार हुँदै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशमा जीवन बिमातर्फ २० लाख ६३ हजार बिमा लेख सक्रिय रहेका छन् । ती बिमा लेखबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

यस्तै, निर्जीवन बिमातर्फ ४ लाख ४९ हजार ४ सय २७ बिमा लेख मार्फत ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

सरकारले पशुधन तथा बाली बिमामा ८० प्रतिशतसम्म बिमा शुल्क व्यहोर्ने व्यवस्था गरे पनि अपेक्षाअनुसार बिमा हुन नसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले प्रदेश सरकारले विभिन्न बिमा योजनामा सहकार्य गर्दै आएको बताए । प्रदेश सरकारसँगको सहकार्यमा पत्रकार दुर्घटना बिमा कार्यक्रम सुरु गरिएको र जंगली जनावरबाट हुने क्षतिको बिमा गर्ने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा कोशी प्रदेश पत्रकार महासंघका अध्यक्ष भरत खड्काले पत्रकारका लागि दुर्घटना बिमासँगै स्वास्थ्यलगायतका सुविधा समेटिएको एकीकृत बिमा योजना ल्याउन प्राधिकरणलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×