मोरङमा ९६ किलो गाँजासहित पक्राउ परेकाहरू धरौटीमा छुटे, अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १७:५८

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाबाट ९६ किलोभन्दा बढी गाँजा बरामद भएको मुद्दामा पक्राउ परेका दुई जना प्रतिवादीलाई मोरङ जिल्ला अदालतले जनही २५ हजार रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

अदालतको आदेशसँगै ठूलो परिमाणमा गाँजा बरामद भएको भनिएको घटनामा बरामद गाँजा र पक्राउ परेका व्यक्तिबीचको सम्बन्ध कसरी स्थापित गरिएको थियो भन्ने विषयमा प्रश्न उठेको छ । ठूलो परिणामको गाँजासहित पक्राउ परेकाहरु धरौटीमा छुटेपछि अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न उठेको हो ।

Advertisement

मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले धनपालथान गाउँपालिका–१ नोचाका २७ वर्षीय सुमनकुमार साह र अमरविक्रम साहलाई छटौटीमा छाड्न शुक्रबार आदेश दिएको हो । उनीहरुबाट प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको थियो । बीआर ३८ एच ८७३३० को मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई धरौटीमा छाड्ने आदेश भएको हो ।

लागुऔषध मुद्दाका दुवै प्रतिवादीलाई जनही २५ हजार रुपैयाँ नगद धरौटी, जेथा जमानत वा बैंक जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनका अनुसार इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरुलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको छ ।

प्रहरी प्रतिवेदनअनुसार गत साउन २० गते बिहान करिब ४ बजे धनपालथान गाउँपालिका–२ कुस्माहा, कदमाहा–गडेरिया भित्री सडकखण्डमा भारतीय नम्बर प्लेटको बीआर ३८ एच ८७३३ नम्बरको मोटरसाइकल बाटोछेउमा रोकेर दुई जना पुरुष बसेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सो क्रममा सुमनकुमार साह वरणवालको साथबाट ओप्पो कम्पनीको मोबाइल एक थान र अमर साहले प्रयोग गर्ने भनिएको मोटरसाइकलको बाँया लेगगार्डबाट गाँजा प्याक गर्न प्रयोग हुने बोरा आकारको कालो प्लाष्टिक १५ थान बरामद भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । त्यसपछि दुवै जनाले अनुसन्धानका क्रममा बताएअनुसार धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको पटुवाबारीमा लुकाइराखेको अवस्थामा कालो प्लाष्टिकमा प्याक गरिएका तीनवटा पोका गाँजा फेला परेको प्रहरीको दाबी छ ।

डिजिटल तराजुमा तौल गर्दा उक्त वस्तु ९६ किलो १९८ ग्राम रहेको अदालतको आदेशमा उल्लेख छ । तर, पक्राउ परेका दुवै जनाले आफूहरु गाँजा कारोबारमा संलग्न नरहेको बयान दिएका छन् । सुमनकुमार साह वरणवालले आफू घरमा काम गर्ने मिस्त्री तथा लेबरसँग धनपालथानकै अमाहीस्थित रामनाथ मण्डलले सञ्चालन गरेको मदिरा पसलमा बसेर हाइल्यान्डर नामको मदिरा सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बयान अदालतमा दिएका छन् । उनले आफूमाथिको आरोप झुटो, काल्पनिक र कपोलकल्पित भएको दाबी गरेका छन् ।

अमरविक्रम साहले पनि सुमनसँगै अमाहीस्थित मदिरा पसलमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेको बताएका छन् । उनका अनुसार सुमनले घर निर्माणमा प्रयोग गर्न विराटनगरबाट कालो प्लाष्टिक ल्याइदिन आग्रह गरेपछि आफूले प्लाष्टिक खरिद गरी भारतीय नम्बर प्लेटको मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएको अवस्थामा प्रहरीले शंकाका आधारमा पक्राउ गरेको हो । गाँजा ओसारपसारमा प्रयोग हुने प्लाष्टिक हो भन्ने प्रहरीको शंकाका आधारमा आफूहरुलाई पक्राउ गरिएको उनको जिकिर छ ।

अनुसन्धानका क्रममा बयान दिँदा पनि दुवैले आरोप अस्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ । मौकामा कागज गर्ने रामनाथ मण्डललगायतका व्यक्तिले भने बरामद गाँजा प्रतिवादीहरुको रहेको कुरा सुनी थाहा पाएको भन्ने व्यहोरा लेखाएको आदेशमा खुलाइएको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले पक्राउ गरेको थियो । इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि त्यसका आधारमा अभियोगपत्र तयार पार्दै जिल्ला सरकारी वकिल कार्यालय मोरङले दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा दायर गरेको हो । तर, ठूलो परिमाणमा गाँजासहित पक्राउ परेको भनिएकाहरु धरौटीमा छुटेपछि अनुसन्धान र अभियोजनमाथि आशंका उब्जिएको हो ।

अदालतले बरामदगी मुचुल्का, प्रहरी प्रतिवेदन, लागुऔषध परीक्षण प्रतिवेदन, मौकामा कागज गर्ने व्यक्तिहरुको विवरण र प्रतिवादीहरुको बयानसमेत हेरेर थुनछेकको आदेश गरेको हो । तर, प्रतिवादीहरुको साथबाटै लागुऔषध बरामद भएको नदेखिएको र दुवैले लागुऔषध कारोबारमा संलग्नता अस्वीकार गरेको अवस्थालाई अदालतले महत्वपूर्ण आधारका रूपमा लिएको छ ।

अदालतको आदेशमा प्रतिवादीहरुको साथबाट लागुऔषध बरामद भएको नदेखिएको तथा उनीहरु कारोबारमा संलग्न नरहेको जिकिर रहेकाले मुद्दाको पुर्पक्षका लागि थुनामै राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख छ । बरामद भएको लागुऔषधको परिमाण र प्रकृति, प्रतिवादीहरुको आर्थिक हैसियत तथा सामाजिक पृष्ठभूमिसमेतलाई दृष्टिगत गरी धरौटी तोकिएको जनाइएको छ ।

सरकारी वकिलले लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय (क) बमोजिमको कसुरमा सोही ऐनको दफा १४ (१) को (घ) (५) बमोजिम सजाय हुनुपर्ने मागदाबी लिएको थियो । तर, थुनछेकको चरणमै अदालतले प्रतिवादीहरुलाई थुनामा राख्नुपर्ने अवस्था नदेखाएपछि दुवै जना धरौटीमा मुद्दा लड्ने भएका छन् ।

मोरङका जिल्ला न्यायाधिवक्ता लेखनाथ ढकालले भने गाँजाको परिमाण ठूलो हुँदैमा मात्रै मुद्दाको अवस्था एउटै नहुने बताए । उनका अनुसार बरामद गाँजा प्रतिवादीसँग प्रत्यक्ष रूपमा जोडिएको छ कि छैन भन्ने विषय पनि महत्वपूर्ण हुन्छ ।

‘हामीले गाँजा यिनीहरुकै हो भनेर मुद्दा चलायौं होला । अदालतले त्यसलाई मानेन होला । सम्बन्धित व्यक्तिबाटै बरामद भएको भए एउटा कुरा हुन्थ्यो । मान्छे र गाँजा अलगअलग ठाउँमा भेटिएको विषयले पनि फरक पार्छ । त्यही भएको हुन सक्छ,’ ढकालले भने ।

उनको भनाइले पनि मुद्दामा बरामद गाँजाको परिमाणभन्दा त्यसको स्वामित्व तथा प्रतिवादीसँगको प्रत्यक्ष सम्बन्ध प्रमाणित गर्ने विषय महत्वपूर्ण रहेको देखाउँछ । प्रहरीले भने अनुसन्धानका क्रममा प्रतिवादीहरुले बताएअनुसारकै स्थानबाट गाँजा बरामद भएको दाबी गरेको छ ।

धरौटीमा छाड्ने आदेशलाई प्रतिवादी निर्दोष ठहर भएको अर्थमा भने लिन मिल्दैन । अदालतले मुद्दाको अन्तिम निष्कर्ष प्रमाण परीक्षणपछि हुने स्पष्ट गरेको छ । अदालतले वादी नेपाल सरकार तथा प्रतिवादीका साक्षी बुझेर मुद्दा नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ ।

अब मुद्दाको प्रमाण परीक्षणका क्रममा बरामद भएको ९६ किलो १९८ ग्राम गाँजा प्रतिवादीहरुसँग कसरी जोडिन्छ, उनीहरुले बताएअनुसारको स्थानबाट बरामद भएको भनिएको गाँजासहित उनीहरुको सम्बन्ध कसरी पुष्टि हुन्छ र अनुसन्धानका क्रममा संकलन भएका प्रमाणले अभियोगलाई कति बलियो बनाउँछन् भन्ने विषय महत्वपूर्ण हुनेछ ।

तपाइको प्रतिक्रिया
कार्कीको कटाक्ष– ‘लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामना’
अदालत भित्रैबाट बिचौलिया पक्राउ
मोरङमा ९६ किलो गाँजासहित पक्राउ परेकाहरू धरौटीमा छुटे, अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न
विवाद समाधान गरी एकताको महाधिवेशन गर्न माग
प्रशासनको प्रतिबन्धलाई चुनौती : विराटनगरमा खुलेआम घन्किँदै डिजे
१३ देशका लागि राजदूत सिफारिस
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने
विदेशी चलखेलका कारण मुलुक संकटमाः नेपाल
मौलिक हक कार्यान्वयनका बाँकी कानुन निर्माणलाई प्राथमिकता दिएका छौँ : मन्त्री गौतम
सरकारविरुद्ध आन्दोलनको तयारीमा छौँ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×